Skip to main content

‘मान्छेसँग डर लाग्छ’

 




डुङडुङ्ती गन्हाएको शरीर, नमाझेर पहेँला भएका दाँत, घुम्रिएर जिङ्रिङ्ग भएको कपाल, अलिअलि पलाएका दाह्रीका ठोसा । झट्ट हेर्दा देखिने उनको हुलिया यही हो ।

सिलाई नगरी पछाडिबाट फन्को मारेर ओढेको लुगा घाँटीनेर ल्याएर गाँठो पारिएको छ । गाँठो भन्दा मुनीको भाग ह्वाङ्गै छ । सिलाएर लगाउनुको साटो त्यसै ओढिएको कपडा अझ ठाउँ ठाउँमा गाँठो पारिएको छ । कपडाको रंग सेतो हो तर, मैलोले कालो भएको गाँठोनेर खुम्चिएको ठाँउमा देखिने सेतो भागले प्रष्ट पार्छ । जंगलमै जीवन ब्यतीत गरेका शिवराज शाहीको शीरमा भने राष्ट्रिय झण्डा अंकित भादगाउँले कालो टोपी टपक्क मिलेको छ ।

शिवराजको छेउमै गएर प्रश्न गरेँ– कहाँ हो तपाईंको घर ? सुर्ती च्यापेको ओठ कोल्टे बनाएर मुस्काए उनी र अलि पर सर्न जोखे । शरीर र सुर्तीको गन्ध एकैचोटी मिसिएर आइरहेको थियो । आँखा तल झार्दै उनले जवाफ दिए– दैलेखको रामघाटमा बसोबास गर्ने राउटे हो हामी ।

रामघाट वरपर बस्ने राउटे समुदायका नेता रहेछन् उनी । पाल्पा महोत्सवमा आफ्ना सामान बेच्न स्टल नै बुकिङ गरेर उनी बसेका थिए । १२ देखि ३० बर्ष सम्मका सात जनाको समुहमा आएका राउटेका टोलीका टोली नेता उनै रहेछन् । उनले आफ्नो बसाईबारे बेली बिस्तार लगाए ।

उनीहरु मुदुस (सामान राख्ने काठको बाकस) बनाएर बेच्छन् । मुदुस बनाएर गाउँतिर बेच्न ल्याउँछन् । उनका अनुसार एउटा मुदुस बनाउन सात दिन लाग्छ । एउटा मुदुस १२ सय रुपैयाँ सम्ममा बिक्रि हुन्छ । तर, अहिले जंगल पातलिंदै गएकाले मुदुस बनाउने पेशा पनि संकटमा परेको उनले वताए । ‘एउटा मुदुस बेचेको पैसाले एक महिनालाई खान पुग्छ’ उनले भने, ‘तर अहिले मुदुस बनाउने काठ पनि सकियो । सबै रुख काटेर फेरि हामी बस्ने जंगल नै हराउँछ ।’ जंगल मासिंदाको पीडा समुदायका अन्यलाई भन्दा राउटेलाई बढी भएको उनले वताए ।


उनी आँखामा आँखा जुधाएर कुरा गरिरहेका थिए । कुरा गर्दै गर्दा घरीघरी उनी मलाई तलदेखि देखि माथिसम्म नियालेर हेर्थे । उनले भिरेका लुगा देखाउँदै ठट्यौली पाराले सोधेँ– किन पढ्न स्कूल नजानु भएको ? पढेको भए बाहिरको कुरा सिकेको भए लुगाहरु फेरीफेरी लगाउन पाइन्थ्यो । मुख फेरीफेरी खान पाइन्थ्यो नि ?

उनको जवाफले अचम्मित बनायो । बाहिरको खानेकुरा जंगलको जस्तो मीठो नहुने कुरा त ठीकै मान्न सकिन्थ्यो । तर, राम्रो लुगा लगाए देउता रिसाउने वताए उनले । ‘बाहिरको मान्छेले लगाएको लुगा राम्रो लाग्छ तर हामीले त्यस्तो लगाउनु हुँदैन । हामी दाराइमस्तो (मस्टो) भगवान मान्छौ । हाम्रो देउता रिसाउँछ’ उनले भने, ‘पहिले पहिले कसैले लाउँथेन तर अहिले त महिलाहरुले बाजारको सिलाएको र किनेको गहना पनि लगाउँछ । हाम्रो आमाहरुले त्यस्तो कहिल्यै लगाउनु भएन ।’

उनीहरुका आमाले जंगलमा पाइने जडिबुटीको गहना कान र नाकमा लगाउने गरेका रहेछन् । त्यसअघिका पुस्ताले गहनाका रुपमा फूल नाक कानमा लगाउने गरेको उनले सुनाए ।


तर उनले बिहेमा श्रीमतीलाई बजारबाटै गहना बनाएर लगेका रहेछन् । हल्का लजाउँदै उनले भने –मेरो बिहेमा उहाँलाई बजारको गहना लगिदिएको थिएँ । श्रीमतीलाई तपाईं सम्बोधन गर्दा रहेछन् उनीहरु । ‘हाम्रोमा नराम्रो मान्छेले मात्र तँ भन्नुहुन्छ, अरु सबैले तपाईं नै भन्नुहुन्छ’ उनले सुनाए ।

बिहेमा दाइजोका रुपमा चामल र भाँडाकुंडा दिने चलन रहेछ । उनको बिहेमा आधा बोरा चामल ससुरालीले दाइजो दिएको सुनाउन छुटाएनन् । भने– मेरो बिहेमा दाइजोमा दश किलो चामल दिएको थियो, खाने थाल पनि थियो ।’

राउटे समुदायको जान्ने बुझ्ने भएर आफू मुखिया भएको सुनाए । भने– ‘बोल्ना पहिलेबाट सिकेकोनाईं । बोल्नाई नजान्या त नाइके कहाँ बन्दाहुँ । बुटवल गया छु । चितवन पनि गया छु । रासनपानी खाला भनेर बोलाया हुन्  । हामी बाहिर भन्दा बनमााईं रमाउँदा हुन् । बनमा बसेको बनै राम्रो लाग्छ । बनको शिकार गर्नु नाई हाम्ले सिक्न्या कुरा हुन् । त्यहि सिक्यो । तपाईंहरुलाई त्यो आउँदैन । हामीलाई यही सुख छनाईं । नागरिकता छैन । त्यो चाहिदाइना पनि । एक ठाँउमा नबस्ने । तपाईंहरु वान टु थ्री भन्नुहुन्छ । हामीलाई त्यस्तो बोल्नु हुन्ना ।’

उनले आफ्नो बसाइबारे बेली बिस्तार लगाउँदै भने– ‘हाम्रो त ससुराला माइत नजिक नजिक । जनावर पायो भने मासु काटेर लिएर जान्छ ससुराला । हामी त बिहे गर्दा नेपाली बोल्ले सँग मात्र गर्छौं । मागेरै बिबाह गर्छौं । बगालै भित्र बिहे गर्छौं । बिहेमा भात खान्छौं । हामी लुगा सिलाएर लगाउँदैनौं । पहिला त शहर जान थिएन । अहिले मात्र बजार निकाना लाग्या हुन् ।’

उनीहरु समयको मापन चरा, जनावर र आकाशका तारा हेरेर गर्छन् । ‘कति बज्यो भनेर रातमा चरा र जनावार कराएको, आकाशसमा तारा हेरेर जान्दछ’ उनले भने, ‘हामीलाई त्यही खुसी छ ।’ उनीहरुलाई जंगलदेखि कहिल्यै डर लागेन रे । बरु मान्छेहरु डरलाग्दो लाग्छ । उनी भन्छन् –जंगलको डर लाग्दैन मान्छेदेखि डर लाग्छ ।

Comments

Popular posts from this blog

हाम्रो भान्सा औषधालय, आमाहरु चिकित्सक ! बिनु पोखरेल

  समय मानिसको गुरु रहेछ । एउटा समयमा रुढ ठानेर परित्याग गरिएका हाम्रा सामाजिक आचार-व्यवहारलाई अर्काे समयले परीक्षण गरी गतिशील विज्ञानमा बदलिदिंदो रहेछ । बाल्यकालमा आफैंले रुढ ठानिएका सामाजिक र पारिवारिक पद्दतिहरु आज फर्केर हेर्दा तिनको प्रमाणिक वैज्ञानिकता पुष्टि हुँदै गएपछि म यस निष्कर्षमा पुगेको छु । समयले सिकाएका र अध्ययनले सावित गरेका केही समाजिक पारिवारिक आचार–व्यवहारबारे यो आलेखमा केही लेख्ने छु । हाम्रा हजुरआमा हजुरबुवाका समयको गृहस्थ जीवनको प्रायः दैनिकी यस्तो थियो । हर घरमा बिहान पूजा हुन्थ्यो । हजुरबुवा, आमाहरु ब्रह्म मुहूर्त (घाम झुल्कनुभन्दा अघिको समय)मै उठ्नुहुन्थ्यो । हर टोलमा एउटा वर पीपल रोपिएको हुन्थ्यो । हजुरबुवा हजुरआमाहरु बिहानै नुहाएर सबै तयारी भएपछि हरेक दिन घामको पहिलो झुल्को कुरेर पीपलको बोटमा पानी चढाउन निस्कनुहुन्थ्यो । चौबाटोको पीपल र घरको आँगनमा रोपिएको तुलसीको बुट्यानमा पानी चढाएर आएपछि पञ्चपात्रोमा तुलसीको पात, तील, कुश मिसाएको पानी सबैलाई खान दिनुहुन्थ्यो । त्यो पञ्चपात्रो तामाको हुन्थ्यो । तामाको भाँडामा राखेको पानी तामाकै चम्चाले उभाएर दिनुहुन्थ्यो ...

स्वास्नी अर्थात् सुवासिनी– बिनु पोखरेल

  महिलालाई देवीको रूपमा अथ्र्याइएको शब्द हो– आइमाई भर्खरै समाजशास्त्रकी एकजना प्राध्यापिकाले ‘स्वास्नीमान्छे खराब हुन्छन्’ भन्ने भावको एउटा ट्विट गरिन् । ‘आइमाई’ शब्द राखेर गरिएको त्यस ट्विटका कारण ट्विटरमा धेरै दिन बहस चल्यो । आफूले ‘आइमाई प्रवृत्ति’मा जोड दिएर ट्विट लेखेको उनको तर्क थियो । कसैले उनलाई ‘आफैँ आइमाई भएर आइमाई अर्थात् महिलालाई गाली गरेको’ आरोप लगाए भने कसैले ‘आफैँलाई होच्याउने गरी प्रस्तुत गरेको’ भनेर गाली गरे । कत्तिले ‘आइमाई’ शब्द नै हेप्ने शब्द भएको भन्दै यस्तो नलेख्न सुझाए । एकजनाले ‘आइमाई’ शब्दको अर्थ के हो, यसमा विरोध र समर्थन किन हुन्छ भन्ने प्रश्न गर्दै प्रस्ट्याइदिन मलाई आग्रह गरे । केहीले त सीधै म्यासेज पठाएर ‘आइमाई’ भन्न किन नहुने भन्दै प्रश्न गरेका थिए । स्त्री जाति बुझाउने केही शब्द, यसबारे चलेको बहस/विरोध र यसको शाब्दिक अर्थबारे यो लेखमा छलफल गर्ने प्रयास गरेकी छु ।  ००० प्रथमतः बहसमा रहेको ‘आइमाई’ शब्दको अर्थ खोजौँ । भारतका मराठीहरू आमालाई ‘आई’ भन्छन्,  उत्तर भारत र नेपालको दक्षिणमा आमालाई ‘माई’ भनिन्छ । नेपालको पहाडी भेगमा देवीलाई ‘माई’...

के व्रत संस्कृति रुढीवाद हो ? –बिनु पोखरेल

    पोहोर साल ‘यसपालीको तीज, नो ब्रत प्लिज’ भन्ने गीत बजारमा आयो । सामाजिक सञ्जालमा स्वघोषित दोस्रो दर्जाको दावी गर्दै ‘महिलावादी’ समूहले त्यसलाई अग्रपंक्तिमा उभिएर समर्थन जनायो ।  उक्त समूह सामाजिक व्यवस्थाका गुणदोष केलाउने भन्दा पनि नेपालका सांस्कृतिक मान्यताहरुमाथि आँखा चिम्लेर प्रहार गरिरहेकै हुन्थ्यो । लामो समयदेखि तीजमा व्रत नबस्ने अभियान चलाइरहनु भएका उहाँहरुको लागि यो गीत घृणा प्रवद्र्धनको औषधि सावित भइरहेको थियो ।  व्रतले महिलाहरुलाई अघि बढ्न दिएन । व्रतकै कारण सबै विकास ठप्प भयो भन्ने उहाँहरुको निष्कर्ष छ । मूलधारको भनिएको मिडिया पनि मौलिक संस्कृतिको अस्वीकारलाई क्रान्ति नै ठान्छ । त्यसैले मिडियामा गीतसँगै नो व्रत भन्दै मुठ्ठी कसेका आलेख पनि बाक्लै छापिए ।  विमर्शका लागि ठाउँ दिने भन्दा अभियानमा रमाउने र एकथरी विचारलाई निषेध गर्ने अमुक् सञ्चार माध्यमको परिपाटीले उनीहरुले नरुचाएका विषयमा कलम चलाउनु अपराधीको दर्जा पाउनुजस्तै हुन पुगेको छ । यद्यपि आज सभ्य बन्ने नाममा तेज्य बनाइँदै लगिएको व्रत बस्ने संस्कृतिबारे लेख्ने धृष्टता गरेको छु । व्रतको अर्थ पहिला ...