Skip to main content

दिन फिर्‍यो नमस्कारको !


बिनु पोखरेल

मानिस आफू हिँडिरहेको बाटोबाट कहिले पछाडि फर्कन्छ ? जब गन्तव्यमा पुग्न उसले हिँडेकोभन्दा कम जोखिमको बाटो फेला पार्छ । फर्कनुको अर्थ पहिले त्यही स्थानमा रहनुको प्रमाण पनि हो । प्रसंग हो, कोरोना भाइरसको संक्रमणबाट बच्न विश्व स्वास्थ्य संगठनले अभिवादनस्वरूप हात मिलाउने परम्परालाई रोक्न गरेको आग्रह ।




रोकिनु त जड प्रवृत्ति भयो । अझै अघि बढेर इजरायली प्रधानमन्त्री बेन्जामिन न्येतन्याहुले अबदेखि हात मिलाउनुको साटो नमस्कार गर्न आग्रह गरे । नमस्कार गर्दै गरेको उनको तस्बिरले अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले प्राथमिकतासाथ सम्प्रेषण गरे । पश्चिमाको सांस्कृतिक साम्राज्य र त्यसले पारेको प्रभावस्वरूप हामीले केही दशकयता नमस्कार गर्न भुलिसकेका थियौं । पश्चिमका जुनसुकै परम्परालाई वैज्ञानिक मान्ने र त्यसलाई अनुसरण गर्ने दुनियाँमा अभिवादनको नमस्कार शैलीमाथि बहस हुन थालेको छ ।


संसारका महाशक्ति, जोसँग पैसा छ, जोसँग शक्ति छ, उनीहरूले अपनाएका चलन वैज्ञानिक नभए पनि सभ्य हुन्छन्, उनीहरूको खानेकुरा मीठो नभए पनि त्यही खानुपर्छ नत्र हामी पाखे हुन्छौं भन्ने जबर्जस्त धारणा छ । हाम्रो समाज आफ्नो सभ्यताले विकसित गरेका शब्दहरू उचित भए पनि, ध्वनि प्रकृतिसँग मिल्ने भए पनि तिनलाई विस्थापित गर्नुपर्छ र ती विभेदकारी छन् भन्ने मान्यताको सिकार हुँदै आएको छ । नमस्कार छोड, हात मिलाऊ । मान्यजनलाई साष्टांग दण्डवत् गर्न छोड, गला मिलाऊ । गुरु र गुरुआमा नभन, सर र मिस भन । दिदीबहिनी–दाजुभाइ भन्नु असभ्यता हो, ब्रो र सिस भनेर सभ्य होऊ । दालभात भन्नै हुँदैन, ब्रेकफास्ट, लन्च र डिनरलाई भान्सा संस्कृति बनाऊ । सभ्यता र विकासको मानक हामीले यसैलाई बनाउँदै आयौं ।

समाजको ‘विकासमा लागेका’ राजनीतिकर्मीदेखि समाजसेवामा छौं भन्ने सरकारी जागिरे, एनजीओकर्मीहरूलाई भेट हुँदा पनि नमस्कार गरेको देख्न कठिन छ । नमस्कारको ठाउँ अँगालो हाल्ने र ‘चुम्माचाटी’ ले लिएको छ । नमस्कार गुरु, नमस्कार गुरुआमा भनेको सुन्न मन पराउँदैनन् अहिलेका शिक्षकहरू । तिनलाई गुड मर्निङ सर/मिस भन्नुपर्छ । पश्चिमा संस्कृतिले छोप्दै आएको हाम्रो नमस्कार संस्कृतिलाई धन्न कोरोनाको महामारीले सम्झाइदिएको छ !


नमस्कार मन, आवाज र मुद्राले गर्न सकिन्छ । आवाजमा निस्कने नमस्कार संस्कृत शब्द हो । नमस्–कृ–घञ भएर नमस्कार शब्द बन्छ । नमः को अर्थ म नमन गर्छु या म झुक्छु या मेरो अहंकार झुक्यो भन्ने हुन्छ (बृहद् संस्कृत–नेपाली शब्दकोश, पं. फणीन्द्रप्रसाद पाण्डेय, पृ. ७१३) । ममा भएको उज्यालो तिमीमा भएको उज्यालोसँग मिल्छ, तिमी र ममा भेद छैन भन्ने गहिरो कामना नै नमस्कार हो भन्नुहुन्छ तन्त्रविद् विद्यानाथ उपाध्याय भट्ट । उहाँका अनुसार, नमस्कारको भावार्थ हो सम्मान गर्नु । हाम्रा पाँच औंलालाई पञ्चतत्त्व पृथ्वी, जल, तेज, वायु र आकाशका रूपमा अर्थ्याइएको छ । यी औंला एकसाथ हुँदा तिनै पाँच ऊर्जाको प्राप्ति हुन्छ । देखिने भौतिक कुराबाट नभई खासमा त्यो ऊर्जाकै कारण मान्छे जिउने हुनाले ऋषिमुनिहरूले नमस्कार उत्कृष्ट ठहर्‍याएर संस्कृतिका रूपमा ल्याएको उहाँको तर्क छ ।


देवता, गुरु, ब्राह्मण, साथी र मान्यजनलाई नमस्कार शरीर, मन र वचन तीन प्रकारले गरिन्छ (शब्दकल्पद्रुम, पृ. ८२७–२८) । धर्ममा मात्र हैन, योग विज्ञान तथा आयुर्वेदमा पनि हत्केलामा रहेका नसाहरू दिमागकेन्द्रित हुन्छन् भन्ने उल्लेख पाइन्छ ।


शरीरहरूबीचको सम्बन्धभन्दा भावनात्मक रूपले एकाकार खोज्ने परिपाटीबाटै हाम्रा संस्कारहरू बन्दै आएका हुन् । दुवैको आभामण्डलमा व्याप्त भावनात्मक र अदृश्य तत्त्वलाई एकताबद्ध गराउने प्रक्रियाबाट अभिवादनको नमस्कार शैली विकास भएको हो । आफ्नो भावनात्मक तरंग र त्यसको प्रकाश अरूमा पठाएर गरिने नमस्कार अभिवादनको प्राचीन शैलीमध्येको एक हो ।


नमस्कारको प्रयोगबारे वेदमा पनि उल्लेख छ । रुद्रिका मन्त्रहरूमा ‘नमः शङ्कराय,’ ‘नमः शम्भवाय’ भनिएको छ । देवताको पुकार गरिएका पुराना ग्रन्थहरूमा यसरी नमस्कारको प्रयोग गरिएको छ भने स्मृतिहरूमा अभिवादन गर्ने गरिएको बताइएको छ । शुक्लयजुर्वेद (१६/१) मा भनिएको छ— ‘नमस्ते रुद्र मन्यव उतो त इषवे नमः । बाहुभ्यामुत तर नमः ।’ अर्थात्, हे रुद्र, तपाईंलाई तपाईंका क्रोधलाई तपाईंका वाणलाई र तपाईंका बाहुलाई नमस्कार छ । महाभारत र कालिकापुराणमा पनि सबैलाई नमस्कार गरेर मात्र या योगस्थ भएर मात्र किताब पढ भनिएको छ ।


कामना त जसरी पनि गरिन्छ, तर नमस्कार यस्तो नियन्त्रित कामना हो जसले कर्तालाई पहिला विचारशून्य बनाउँछ । विचार नभएपछि विचारले ल्याउने नकारात्मकता शून्य हुन्छ र आफूमा सकारात्मक भाव उत्पन्न गराएर शरीरको सम्पूर्ण शक्ति एकै ठाउँमा केन्द्रित बनाउँछ । अनि दिमाग र दिल जोडेर सामुन्नेको मान्छेको सम्मानका लागि आफ्नो आत्मालाई पुकार्छ ।


अष्टाङ्ग योग विधि अनुसार, यदि तपाईं साधना गरिरहनुभएको छ भने दुई हात साथमा ल्याउँदा त्यहाँ एक खालको ऊर्जा निस्किन्छ । आफूलाई र आफूले सम्मान गर्ने व्यक्ति अगाडि हुँदा दुवै हत्केला र औंला सँगै जोडेर, कुम र शिरलाई त्रिकोण अवस्थामा राखी, शरीरको सबै शक्ति केन्द्रित भएको अवस्थामा त्यो ऊर्जा प्राप्त हुन्छ । दुवै हातको हरेक औंला उही औंलासँग मिलाई हावा पनि छिर्न नसक्ने गरी जोडिन्छ र बूढी औंलाको जोडीलाई फरक पारिन्छ । अनि जोडिएको हात छातीको बीच भागमा मुटुको धड्कन महसुस गर्ने गरी राखिन्छ, जसको आकार शिरसँग पनि त्रिकोणकै हुन्छ ।


नमस्कारका बेला अघिल्तिरको मान्छेसामु झुक्दा औंलाले आँखीभौंको बीच भागमा छुन्छ अनि नमस्कार गर्नेका आँखा दुई सेकेन्डका लागि बन्द हुन्छन् । आँखा बन्द हुँदा मानिसको सम्पूर्ण ऊर्जा भित्र केन्द्रित हुन्छ र बाहिरी संसारसँग उसको सम्बन्ध एकै छिनका लागि टुट्छ । अर्थात्, ऊभित्रका लोभपाप जस्ता स्वार्थी आकांक्षाहरू एकै छिनका लागि भए पनि हराउँछन् । अन्य विचार पनि बन्द भएको, सबै शक्ति केन्द्रित भएको अवस्थामा गरिएको पुकारमा उत्पन्न सात्त्विक ऊर्जा सामुन्नेको मानिसमा सजिलै प्रवेश गर्न सक्छ भन्ने मान्यता योग तन्त्र शास्त्रमा पाइन्छ ।


नमस्कार गरेर झुक्नु आफैंमा सम्मान हो र त्यसबाट तपाईं मभन्दा श्रेष्ठ हुनुहुन्छ, म तपाईंको अधीनस्थ हुँ भन्ने भाव व्यक्त भइरहेको हुन्छ । मेडिकल विज्ञानले पनि भनेको छ— हाम्रा हातमा धेरैतिरका नसाहरू आएर अन्त्य हुन्छन्, जसले गर्दा हत्केलाका खासखास नसाहरूबाट शरीरको पूरै पद्धतिलाई नियन्त्रण गर्न सकिन्छ ।


कामना या आन्तरिक ऊर्जाले मान्छेको शक्तिमा फरक ल्याउन सक्छ भनी सबै धर्म र सभ्यताले मानेका छन् । गला मिलाउन चिनेको मान्छे हुनुपर्ला, हात मिलाउन पनि सफा मान्छे खोज्नुपर्ला अनि मृत्यु भइसकेकाहरूसँग हात मिलाउन वा गला मिलाउन सकिँदैन । तर, नमस्कार सबैलाई सबै अवस्थामा गर्न सकिन्छ । नमस्कार अभिवादन मात्र नभएर वसुधैव कुटुम्बकंको परिपूरक रूप हो, जसले वसुधा (पृथ्वी) मा बसोबास गर्ने सबै मेरा मित्र हुन् भन्ने भाव जागृत गर्छ । एकचित्त भएर गरिएको नमस्कारले नदेखिने तर प्रत्यक्ष प्रभाव पर्ने दुई व्यक्तिबीच सूक्ष्म स्पन्दन प्रवाह गरेको हुन्छ । त्यही सात्त्विक स्पन्दनले मान्छेमा नकरात्मकता हराउँछ र उसमा सम्यक् भाव उत्पन्न हुन्छ ।


लामो अभ्यास र अध्ययनपछि निर्मित संस्कृतिबाट आएको नमस्कारलाई हामीले बाह्य प्रभावमा परेर त्यागिदियौं । पराईको प्रभावमा परेर त्यागिएको हाम्रो वैज्ञानिक अभिवादन संस्कृतिलाई पुनःस्थापित गर्ने अवसर अहिले कोरोना भाइरसको आतंकले जुराइदिएको छ । नमस्कारलाई पुनः अनुसरण गरौं ।



Comments

Popular posts from this blog

हाम्रो भान्सा औषधालय, आमाहरु चिकित्सक ! बिनु पोखरेल

  समय मानिसको गुरु रहेछ । एउटा समयमा रुढ ठानेर परित्याग गरिएका हाम्रा सामाजिक आचार-व्यवहारलाई अर्काे समयले परीक्षण गरी गतिशील विज्ञानमा बदलिदिंदो रहेछ । बाल्यकालमा आफैंले रुढ ठानिएका सामाजिक र पारिवारिक पद्दतिहरु आज फर्केर हेर्दा तिनको प्रमाणिक वैज्ञानिकता पुष्टि हुँदै गएपछि म यस निष्कर्षमा पुगेको छु । समयले सिकाएका र अध्ययनले सावित गरेका केही समाजिक पारिवारिक आचार–व्यवहारबारे यो आलेखमा केही लेख्ने छु । हाम्रा हजुरआमा हजुरबुवाका समयको गृहस्थ जीवनको प्रायः दैनिकी यस्तो थियो । हर घरमा बिहान पूजा हुन्थ्यो । हजुरबुवा, आमाहरु ब्रह्म मुहूर्त (घाम झुल्कनुभन्दा अघिको समय)मै उठ्नुहुन्थ्यो । हर टोलमा एउटा वर पीपल रोपिएको हुन्थ्यो । हजुरबुवा हजुरआमाहरु बिहानै नुहाएर सबै तयारी भएपछि हरेक दिन घामको पहिलो झुल्को कुरेर पीपलको बोटमा पानी चढाउन निस्कनुहुन्थ्यो । चौबाटोको पीपल र घरको आँगनमा रोपिएको तुलसीको बुट्यानमा पानी चढाएर आएपछि पञ्चपात्रोमा तुलसीको पात, तील, कुश मिसाएको पानी सबैलाई खान दिनुहुन्थ्यो । त्यो पञ्चपात्रो तामाको हुन्थ्यो । तामाको भाँडामा राखेको पानी तामाकै चम्चाले उभाएर दिनुहुन्थ्यो ...

स्वास्नी अर्थात् सुवासिनी– बिनु पोखरेल

  महिलालाई देवीको रूपमा अथ्र्याइएको शब्द हो– आइमाई भर्खरै समाजशास्त्रकी एकजना प्राध्यापिकाले ‘स्वास्नीमान्छे खराब हुन्छन्’ भन्ने भावको एउटा ट्विट गरिन् । ‘आइमाई’ शब्द राखेर गरिएको त्यस ट्विटका कारण ट्विटरमा धेरै दिन बहस चल्यो । आफूले ‘आइमाई प्रवृत्ति’मा जोड दिएर ट्विट लेखेको उनको तर्क थियो । कसैले उनलाई ‘आफैँ आइमाई भएर आइमाई अर्थात् महिलालाई गाली गरेको’ आरोप लगाए भने कसैले ‘आफैँलाई होच्याउने गरी प्रस्तुत गरेको’ भनेर गाली गरे । कत्तिले ‘आइमाई’ शब्द नै हेप्ने शब्द भएको भन्दै यस्तो नलेख्न सुझाए । एकजनाले ‘आइमाई’ शब्दको अर्थ के हो, यसमा विरोध र समर्थन किन हुन्छ भन्ने प्रश्न गर्दै प्रस्ट्याइदिन मलाई आग्रह गरे । केहीले त सीधै म्यासेज पठाएर ‘आइमाई’ भन्न किन नहुने भन्दै प्रश्न गरेका थिए । स्त्री जाति बुझाउने केही शब्द, यसबारे चलेको बहस/विरोध र यसको शाब्दिक अर्थबारे यो लेखमा छलफल गर्ने प्रयास गरेकी छु ।  ००० प्रथमतः बहसमा रहेको ‘आइमाई’ शब्दको अर्थ खोजौँ । भारतका मराठीहरू आमालाई ‘आई’ भन्छन्,  उत्तर भारत र नेपालको दक्षिणमा आमालाई ‘माई’ भनिन्छ । नेपालको पहाडी भेगमा देवीलाई ‘माई’...

जहाँ छोरा अन्माएर ज्वाइँ भित्र्याइन्छ– बिनु पोखरेल

  बिहेपछि छोरीले घर–माइती गर्ने समाजमा हुर्केकी म केही समयअघि भारतको मेघालय पुगेँ। त्यहाँ पुगेपछि बनेका मेरा साथी हुन् हरि लिङ्दो। हुरीसहितको झमझम पानी परिरहेको एक साँझ हरि, उनकी श्रीमती सल्ला र छोरीसँगै म हरिको आमाघर (माइती) मअल्यङ् गएँ। मअल्यङ् मेघालयमा रहेको एउटा सुन्दर गाउँ हो, जहाँ मातृप्रधान सामाजिक व्यवस्था छ। नेपालमा छोरीलाई अन्माएर ज्वाइँको घरमा पठाएजस्तै यहाँका खासी जातिमा छोरालाई अन्माएर बुहारीको घरमा पठाइन्छ। यो गाउँमा खासीहरुको बाक्लो बस्ती छ। यस मातृप्रधान समाजको मुख्य पेसा व्यापार हो। यो गाउँ लामो कुचोका कारण प्रसिद्ध छ। म पनि उनीहरुको साथ लागेर हरिको माइती गएँ।  माइत जाँदा हरिले नै गाडी हाँकेर लिएर गए। बाटोमा उनलाई मैले हिन्दीमा सोधेकी थिएँ– ‘कति पछि माइत आयौ हरि?’ उनले हाँस्दै नेपालीमा भनेका थिए– ‘यता काम पर्दा कहिलेकाहीँ निस्कन्छु। यहीँ बस्नेगरी नआएको त धेरै भयो।’ व्यापारी भएका कारण धेरै ठाउँ डुल्ने र बुबा नेपाली भएकाले उनी हिन्दी, अंग्रेजी, नेपाली र खसिया भाषामा सहज बोल्न सक्छन्। तथापि अधिकांश खासीहरु आफ्नोबाहेक अन्य भाषा बुझ्दैनन्। हामी उनको माइती पुग्दा आम...