Skip to main content

कृष्णः कामवासक की कर्म योगी ? बिनु पोखरेल




 नेपाली सनातनी चाडपर्वलाई पछिल्लोपटक कुरीतिका रूपमा अर्थ्याउँदै सामाजिक सञ्जाल र मिडियामा अभियान चलाउने प्रवृत्ति बढेको छ। शिव बेढंगी मदहोश पात्र, कृष्ण परस्त्रीलुब्ध स्त्रीलम्पट, श्रीराम पत्नीद्वेषी हुन् भन्ने अर्थ लाग्ने गरी तिनीहरूसँग सम्बन्धित दिवस र पर्वहरूमा यस्ता प्रचार नै चलाइन थालेका छन् यति बेला। यस्ता अभियानमा पश्चिमादेखि यही संस्कृतिमा हुर्किएकासम्म छन्।

भौतिकबाहेक कुनै अस्तित्व बोध नगर्ने यान्त्रिक कोणबाट हेर्दा यस्ता आक्षेपहरू तार्किक पनि लाग्छन्। तर, जीवन र जगत्को अस्तित्व भौतिकतामा मात्र सीमित छैन। भौतिकतामा सीमित हुन्थ्यो भने भौतिक देह रहँदा मानिसलाई मृत मान्नु पर्दैनथ्यो। जब भौतिकतालाई मात्रै देख्न सक्ने र त्यसभित्रको अस्तित्वको आयाम बुझ्ने क्षमता हुँदैन तब उनीहरूका तर्कका घेरा भौतिक वस्तुमै गएर अन्त्य हुन्छ।
भर्खरै बिदा भएको कृष्णजन्माष्टमी आसपास सामाजिक सञ्जालमा यस्तै बहस खुब चक्र्यो। भौतिक विज्ञानको आलोकबाट कृष्णका चरित्रलाई चित्रण गरेर त्यसै आधारमा ‘ज्ञान विस्तार’ भइरहेको थियो। हाम्रो समाजले कृष्णलाई सम्झने भनेकै दही चोर्ने, बाँसुरी बजाउने, प्रेममा चुर्लुम्म हुने। बाँसुरी बजाएरै वरिपरि १६ सय गोपिनी लिएर बस्ने, स्त्रीप्रति सधैं मजाक उडाउने, स्त्रीविनोदी, गहिरो सामाजिक चेत नभएका एक गोठाला मात्रै हुन् उनी। बाल्यकालमा गोपिनीका लुगा लुकाएको कथाको एउटा पाटो पस्केर उनको स्त्रीविनोदी चरित्रको चित्रण गरेको पाइन्छ। मानौं, कृष्ण खोजीखोजी आइमाईका लुगा लुकाएर गुप्तांग हेर्ने यौन कुण्ठित पात्र हुन्।
तर, के कृष्ण अहिले हाम्रो दिमागमा छाप बसाइदिएजस्तै थिए ? १६ सय महिलालाई समय दिने भए उनले जीवनमा अरू केही गरेनन् ? कृष्णले आफूलाई सांसारिक मोहमा अल्झाउने समय कति पाए ? खासमा उनको जीवनको बाल्यकाल कसरी बित्यो ? युवा अवस्थामा कृष्णले सिरियलहरूमा देखाइएजस्तै रोमान्स मात्रै गरे ? अनि उनको उत्तरार्ध कसरी बित्यो भन्नेबारे एकछिन द्वापर युगका विद्वान् गर्गले लेखेको गर्गसंहिताभित्र जाऊँ।
कृष्ण मथुराका राजा कंशका भान्जा थिए। कंशको अत्याचारी शासनका कारण आमाबालाई जेलमा कडा पहरासहित बाँधेकै समयमा उनी जेलमा जन्मिएका थिए। उनी वासुदेव र देवकीको कोखबाट जन्मे पनि बाबुआमाको काखमा हुर्किन पाएनन्। उनी जन्मनुअघि देवकीका ८ सन्तानलाई कंशले जन्मनासाथ मारे। देवकीका गर्भबाट जन्मने बालक आफ्नो काल हुने आकाशवाणीका कारण कंशले कृष्णलाई पनि जन्मनासाथ हत्या गर्न देवकी वासुदेवलाई जेल हाले। त्यसैले भाद्रकृष्णको मध्यरातमा जन्मेका कृष्णलाई राति नै गोकुलमा यशोदाको घरमा पुर्‍याइयो। कृष्णको बाल्यकाल यशोदाका साथमा बित्यो। बाल्यकालमा उनी ज्यादै चकचके थिए र त्यो चकचकमा उनले ठूलाठूला मान्छेले गर्न नसक्ने काम गरेका थिए। जस्तै— कृष्णले पुतनादेखि संकटासुर, त्रिणावर्त, वकासुर, वत्सासुर, धेनुकासुर, वृषासुर, व्युभासुर, अधासुरसम्मको बध गरेका प्रसंग छन् (गर्गसंहिता, गोलक खण्ड) जसले उनी सानैमा सशक्त थिए भन्ने स्पष्ट हुन्छ। तर त्यो उच्छृृंखलता तब आएको हुनुपर्छ जब उनले आमाको माया नपाई अर्काको घरमा हुर्कनु परेको थियो।
बाल्यकालमा मान्छेका घरघरबाट दही चोरेर खाने, खोलामा नुहाउन गएकाहरूको साडी लुकाइदिने फट्याइँ पनि गरेकै थिए कृष्णले। राम्रो बाँसुरीवादक थिए कृष्ण। यस्ता दुस्साहासी थिए कि यसैका कारण उनी गोकुलका सबैभन्दा आकर्षक पात्र बने। हरेक घटनामा सशरीर समावेश हुने कृष्णको गुणकै कारण उनी गोकुलवासीका प्यारा पात्र थिए। त्यसैमा एक थिइन् राधा। गाउँकी एक साधारण महिला जो कृष्णको प्रेममा थिइन्। त्यसैले अहिले पनि हामी भन्छौं राधाकृष्ण। वैवाहिक बन्धनले नबाँधिएको अपेक्षारहित प्रेम पूर्वीय जगत्को मिथका रूपमा अमर छ। कृष्णका बारेमा सोच्दा राधाको साथमा बाँसुरी बजाएको मात्र कल्पना गर्ने हामीले थाहा पाउनुपर्ने तथ्य के भने गोकुलमा यशोदाको काखमा हुर्किरहेका कृष्णलाई मार्न खोजिरहेका मामा कंशले मथुरा ल्याउन भनी अक्रूरलाई पठाए। त्यस बेला कृष्ण ११ वर्षे बालक थिए। त्यसै बेला गोकुल छोडेका कृष्ण कहिल्यै त्यहाँ फर्किएनन्।
राधाका साथमा बजाउने बाँसुरी पनि त्यसपछि उनले कहिल्यै बजाएनन्। यहाँ भनिएको छ, बरु हिँड्ने बेलामा बाँसुरी उनले राधालाई दिए। यहाँसम्म कि कृष्णको राधासँग फेरि कहिल्यै एकान्तमा भेटसम्म भएन। न अरू कोही आफन्तलाई भेट्न जान समय भयो उनलाई। बालक कालमा बालसुलभ गुणमा त कृष्ण उत्कृष्ट चञ्चल थिए। तर, उनलाई बालक हुँदा बालकजस्तै भएर बस्ने समय रहेन (गर्गसंहिता, माधुर्य खण्ड, पृष्ठ १९४)। ११ वर्षकै उमेरमा गोकुल छोडेका कृष्ण रासलीलामा रहे भनेर भट्याइरहनु कति जायज ? कृष्णको युग कृषिबाट पशुपालनमा प्रवेश गरेको युग थियो भन्ने कुरा गाईपालकप्रति उनका वकालतहरूले बताउँछन्। गाईहरूलाई बचाउने, इन्द्र रिसाएर पानी पार्दा गोवद्र्धन पर्वत उठाएर गाई र किसानको रक्षा गरेबाट उनको लगाव बुझिन्छ।
कंशले कृष्णलाई जन्मेकै बेलादेखि मार्न खोजेका थिए। कृष्णलाई लिन अक्रूरलाई पठाएर कृष्ण मथुरा जाँदाजाँदै बाटैमा मार्न अनेक प्रपञ्च गरे। त्यसका बाबजुद कृष्णले आफू ११ वर्ष ११ महिना ११ दिनको हुँदा अत्याचारी कंशलाई मारे। सबैको वाहवाही कमाए। त्यसपछि उनले शान्दिपनी ऋषिसँग ६४ विद्या लिए। खासमा उनी ब्रह्मचारी बस्न रुचाउँथे। कंश मात्र हैन, आफू मात्र खाऊँ आफैं मात्र सुखसयल भोगौं, अरू सबै मरून् भन्ने अपराधीको कमी थिएन त्यस बेला पनि। यस्तो पद्दतिको विरोधी थिए कृष्ण। त्यसैले कंशलाई मारेपछि काल यौवन र कंशकै ससुरा जरासन्धसँग कृष्ण लामो समय लडे। कंशका दुई स्वास्नी आरती र प्राप्ति थिए, जसले श्रीमान्लाई कृष्णले मारेको भनी विलाप गर्न गएपछि जरासन्धसँग १७ पटक युद्ध लडेको सन्दर्भ लेखिएको छ गर्गसंहितामा। कति गर्दा पनि नभएपछि उनी मथुरा पनि छाडेर द्वारका गई त्यहाँको राजा भएर बसे। यस समय उनी २५ वर्ष कटिसकेका थिए।
कृष्ण युवा भएपछि कौरवको सभामा द्रौपदीलाई दुःशासनले नांगेझार पार्न खोज्दा द्रौपदीको लाज ढाकिदिने पात्रका रूपमा देखिन्छन्। बाल्यकालका कृष्णलाई कामुक देख्ने हाम्रो मस्तिष्कले युवा हुँदा द्रौपदीको लाज ढाकेको कुरा देख्न केले छोप्यो ?
द्वारकामा पनि उनी राजा मात्र भएर कहिल्यै बसेनन््। त्यही बीचमा उनले भौमासुर नाम गरेका राक्षसले १६ सय राजकन्यालाई अपहरण गरेर थुनेर राखेको कुरा थाहा पाए। भौमासुरले उनीहरूलाई यौन कर्ममा लगाउँथ्यो। यो सूचना पाएका कृष्णले कन्याहरू छुटाएर ल्याए। तर, त्यो अवस्थामा समाज त के परिवारले पनि उनीहरूलाई स्वीकारेन। कृष्णले नै तिनलाई आश्रम बनाएर संरक्षण दिए। यही घटनालाई आज हामी कृष्णका १६ सय गोपिनी थिए भन्छौं। १६ हजार पट्रानी भन्ने कथा लेखाउँछौं र भट्याउँछौं। यो पनि घटनालाई आफ्नो धरातलमा ल्याएर हेरिएको चरित्रको प्रतिछायाँ मात्र हो। जो जस्तो छ, उसले त्यसैगरी बुझ्नु अस्वाभाविक होइन। तर सिंगै समाज गोपिनीका साडी तान्ने भनेर भजनमा मस्त देख्दा समाजको अवस्था भने अध्ययनरहित देखाउँछ। 
कृष्णको काम देखेर प्रसंशकलाई गोपिनी देख्नु, उद्धार गरेर ल्याएका राजकन्यालाई पट्रानी देख्नु मान्छेको मनोकांक्षा प्रतिविम्बित हुनु मात्र हो। त्यस बेला युद्ध जित र हारको समय थियो। त्यसैले उनले उद्धार गरेका, शरणमा आउने मान्छेहरू राख्न हजारभन्दा धेरै आश्रम बनाए भनेर भागवतदेखि गर्गसंहितासम्म उल्लेख छ। सबै वस्त्र खोलेर तलाउमा नुहाउन लागेका गोपिनीहरूको वस्त्र लुकाउने बालक कृष्णको चरित्रलाई सौन्दर्य दृष्टिको रूपमा मात्र लिन सकिन्छ। उनी त्यस बेला न वयस्क थिए न त महिलाका अंग हेर्न खोज्ने कामुक थिए। सार्वजनिक तलाउमा सर्वांग नग्न रहने गोपिनीहरूलाई बाल्यकालमा कृष्णले रमाइलो हिसाबले सम्झाएको रूपमा त्यस घटनालाई लिन सकिन्छ। कृष्ण युवा भएपछि कौरवको सभामा द्रौपदीलाई दुःशासनले नांगेझार पार्न खोज्दा द्रौपदीको लाज ढाकिदिने पात्रका रूपमा देखिन्छन्।
बाल्यकालका कृष्णलाई कामुक देख्ने हाम्रो मस्तिष्कले युवा हुँदा द्रौपदीको लाज ढाकेको कुरा देख्न केले छोप्यो ? कृष्णका युवा हुँदाका पराक्रम र जीवनको अन्त्यसम्म शासक र जनतामा जीवनलाई अस्तित्वसँग जोडिएर जिउन उत्प्रेरित गरिरहेका कृष्णलाई कहाँ झिनो कुरा कामुकता जोडेर कामुक पात्रका रूपमा चित्रण गरेको पाइन्छ। कृष्ण कामुक होइनन्, बरु उनी कामनालाई प्रेमले जित्ने प्रेमी हुन् भन्ने यस तथ्यले देखाउँछ। 
भागवत गीतामा कृष्णले अर्जुनमार्फत दिएको ज्ञान संसारलाई नै जीवन विज्ञान र अध्यात्म सिकाउने सबैभन्दा उत्कृष्ट ज्ञान बनिरहँदा हामी भने सोह्र सय गोपिनीसँग उनको सम्बन्धमै अल्झिरहेका छौं। यसको अर्थ कृष्णले दिएको ज्ञानमा प्रवेश गर्ने हिम्मत गर्न सक्दैनौं, बरु आफूभित्रको कामवासनालाई प्रतिविम्बित गरेर हेर्छाैं भन्ने देखाउँछ। कृष्णबाट सिक्ने कुरा अनेक छन्। कृष्णको गीता उपदेशबाट सुखको अतिशय आकांक्षा दुःखमा प्रवेश गर्ने द्वार हो भन्ने बोध गराउँछ। मोहले मानिसलाई स्वयंको जालमा बाँधेर राख्छ भन्ने उनको बोध त्यहाँ भेटिन्छ। उनी भन्छन्— जीवनलाई आकांक्षाबाट नबाँध, आकांक्षाहरूलाई हेर्ने दर्शक मात्र बन र जीवनको आनन्द उठाऊ।
कृष्णले महाभारत युद्ध नहोस् भन्ने चाहे। तर त्यो भएरै छोड्यो। कुनै पनि अनिष्टको गर्भ पाकिरहेको छ भने अर्काे जस्तोसुकै शक्ति सक्रिय भए पनि त्यसलाई टार्न सक्दैन, अत्याचारले आआफ्नो कोटा चुत्तक्र गर्नैपर्छ। कृष्ण सबै कुरा जान्ने थिए। तर जान्ने भएर उनले युद्ध आफैं लडेनन्, युद्ध थोपर्न र बेहोर्न बाध्य पक्षहरू नै त्यसका भोक्ता थिए भन्ने कुरा कृष्णले सिद्ध गरे। महाभारतमा कृष्णले भनेका छन्—  जो गर्नयोग्य छ त्यो कर्म हो। कर्म नै आनन्द हो। पीडावीसंगत इच्छा र वासनाबाट सुरु हुन्छ। कामनारहित कर्मको उनको यही मान्यतालाई कर्मयोग भनिन्छ।
जसरी घामका तीन चरण हुन्छन्— प्रभाती, दिवा र सन्ध्या। त्यस्तै कृष्णका पनि जीवनका तीन चरण छन्। पहिलो, वृन्दावनमा बालापन।  दोस्रो, मथुरामा युवा अथवा पराक्रम र तेस्रो, द्वारकामा सुशासन। उनको उत्तराद्र्ध सबैभन्दा पढ्नलायक र जीवनोपयोगी छ। सद्गुरु जग्गीवासुदेवको नजरमा दुस्मनको संहारक, चतुर राजनेता, सज्जन, सबैभन्दा उच्चकोटीका योगी हुन् कृष्ण। ओशोको नजरमा रणछोड दास, मर्यादापार, महात्मा तर सन्त हुन नसकेको, जीवनमा काँडामा जिएर पनि फूल बनाएको, जस्तो परिस्थिति पनि सामना गरेर न्यायका लागि जीवनभर लडेका मान्छे हुन् कृष्ण। 
कृष्णका हरेक पाटा केलाएपछि हामी के निष्कर्षमा पुग्छौं भने कृष्णमा प्रेम थिएन भने न कृष्णले कंशबाट गोकुललाई मुक्त गराउन सक्थे न त भौमासुरको जेलबाट राजकन्याहरू छुटाउन सक्थे। तर, प्रेम भनेको गर्लफ्रेन्ड र ब्वाइफ्रेन्डको शारीरिक मिलाप मात्र देख्ने आधुनिक पुस्ताले कृष्णको आत्मिक चिन्तनलाई बोध गर्न सक्दैन। एउटा बालकले तलाउमा नांगै पसेका यौवनाहरूका कपडा लुकाइदिन्छ र रूखमा बसेर बाँसुरी बजाउँछ। यस सौन्दर्यभित्र केवल यौनांगको मात्र दर्शन गर्न सक्ने समाजमा हामी छौं। त्यसैले त्यसभित्रको बालसुलभ चञ्चलता र सौन्दर्य हामीले बोध गर्न सकेनौं।
हामी देख्दैनौं, तर जीवनमा भावहरूको बलियो अस्तित्व हुन्छ। तिनै भावहरूको उर्वर परिणाम प्रेम हो। तर, आजको समाजमा जीवन र जगत्को वास्तविकता नबुझ्नेहरू भने ती भावहरूलाई बोध गर्न सक्दैनन्, वक्ष, नितम्ब र योनीको वरिपरि घुमिरहन्छन्। त्यसैका लागि मरिहत्ते गर्छन् र प्राप्त गर्न नसकेपछि निन्दा गर्छन्। कृष्णमाथि आजको भौतिक समाजको निन्दाको स्तर पनि यही हो। निन्दा, द्वेष र कुण्ठाले छोपेको आजको समयलाई प्रेममय बनाउन कृष्णलाई बोध गर्न सक्नुपर्छ .

 १७ असोज २०७७ ०९:१२:०० अन्नपूर्ण पोष्ट

Comments

Popular posts from this blog

हाम्रो भान्सा औषधालय, आमाहरु चिकित्सक ! बिनु पोखरेल

  समय मानिसको गुरु रहेछ । एउटा समयमा रुढ ठानेर परित्याग गरिएका हाम्रा सामाजिक आचार-व्यवहारलाई अर्काे समयले परीक्षण गरी गतिशील विज्ञानमा बदलिदिंदो रहेछ । बाल्यकालमा आफैंले रुढ ठानिएका सामाजिक र पारिवारिक पद्दतिहरु आज फर्केर हेर्दा तिनको प्रमाणिक वैज्ञानिकता पुष्टि हुँदै गएपछि म यस निष्कर्षमा पुगेको छु । समयले सिकाएका र अध्ययनले सावित गरेका केही समाजिक पारिवारिक आचार–व्यवहारबारे यो आलेखमा केही लेख्ने छु । हाम्रा हजुरआमा हजुरबुवाका समयको गृहस्थ जीवनको प्रायः दैनिकी यस्तो थियो । हर घरमा बिहान पूजा हुन्थ्यो । हजुरबुवा, आमाहरु ब्रह्म मुहूर्त (घाम झुल्कनुभन्दा अघिको समय)मै उठ्नुहुन्थ्यो । हर टोलमा एउटा वर पीपल रोपिएको हुन्थ्यो । हजुरबुवा हजुरआमाहरु बिहानै नुहाएर सबै तयारी भएपछि हरेक दिन घामको पहिलो झुल्को कुरेर पीपलको बोटमा पानी चढाउन निस्कनुहुन्थ्यो । चौबाटोको पीपल र घरको आँगनमा रोपिएको तुलसीको बुट्यानमा पानी चढाएर आएपछि पञ्चपात्रोमा तुलसीको पात, तील, कुश मिसाएको पानी सबैलाई खान दिनुहुन्थ्यो । त्यो पञ्चपात्रो तामाको हुन्थ्यो । तामाको भाँडामा राखेको पानी तामाकै चम्चाले उभाएर दिनुहुन्थ्यो ...

स्वास्नी अर्थात् सुवासिनी– बिनु पोखरेल

  महिलालाई देवीको रूपमा अथ्र्याइएको शब्द हो– आइमाई भर्खरै समाजशास्त्रकी एकजना प्राध्यापिकाले ‘स्वास्नीमान्छे खराब हुन्छन्’ भन्ने भावको एउटा ट्विट गरिन् । ‘आइमाई’ शब्द राखेर गरिएको त्यस ट्विटका कारण ट्विटरमा धेरै दिन बहस चल्यो । आफूले ‘आइमाई प्रवृत्ति’मा जोड दिएर ट्विट लेखेको उनको तर्क थियो । कसैले उनलाई ‘आफैँ आइमाई भएर आइमाई अर्थात् महिलालाई गाली गरेको’ आरोप लगाए भने कसैले ‘आफैँलाई होच्याउने गरी प्रस्तुत गरेको’ भनेर गाली गरे । कत्तिले ‘आइमाई’ शब्द नै हेप्ने शब्द भएको भन्दै यस्तो नलेख्न सुझाए । एकजनाले ‘आइमाई’ शब्दको अर्थ के हो, यसमा विरोध र समर्थन किन हुन्छ भन्ने प्रश्न गर्दै प्रस्ट्याइदिन मलाई आग्रह गरे । केहीले त सीधै म्यासेज पठाएर ‘आइमाई’ भन्न किन नहुने भन्दै प्रश्न गरेका थिए । स्त्री जाति बुझाउने केही शब्द, यसबारे चलेको बहस/विरोध र यसको शाब्दिक अर्थबारे यो लेखमा छलफल गर्ने प्रयास गरेकी छु ।  ००० प्रथमतः बहसमा रहेको ‘आइमाई’ शब्दको अर्थ खोजौँ । भारतका मराठीहरू आमालाई ‘आई’ भन्छन्,  उत्तर भारत र नेपालको दक्षिणमा आमालाई ‘माई’ भनिन्छ । नेपालको पहाडी भेगमा देवीलाई ‘माई’...

के व्रत संस्कृति रुढीवाद हो ? –बिनु पोखरेल

    पोहोर साल ‘यसपालीको तीज, नो ब्रत प्लिज’ भन्ने गीत बजारमा आयो । सामाजिक सञ्जालमा स्वघोषित दोस्रो दर्जाको दावी गर्दै ‘महिलावादी’ समूहले त्यसलाई अग्रपंक्तिमा उभिएर समर्थन जनायो ।  उक्त समूह सामाजिक व्यवस्थाका गुणदोष केलाउने भन्दा पनि नेपालका सांस्कृतिक मान्यताहरुमाथि आँखा चिम्लेर प्रहार गरिरहेकै हुन्थ्यो । लामो समयदेखि तीजमा व्रत नबस्ने अभियान चलाइरहनु भएका उहाँहरुको लागि यो गीत घृणा प्रवद्र्धनको औषधि सावित भइरहेको थियो ।  व्रतले महिलाहरुलाई अघि बढ्न दिएन । व्रतकै कारण सबै विकास ठप्प भयो भन्ने उहाँहरुको निष्कर्ष छ । मूलधारको भनिएको मिडिया पनि मौलिक संस्कृतिको अस्वीकारलाई क्रान्ति नै ठान्छ । त्यसैले मिडियामा गीतसँगै नो व्रत भन्दै मुठ्ठी कसेका आलेख पनि बाक्लै छापिए ।  विमर्शका लागि ठाउँ दिने भन्दा अभियानमा रमाउने र एकथरी विचारलाई निषेध गर्ने अमुक् सञ्चार माध्यमको परिपाटीले उनीहरुले नरुचाएका विषयमा कलम चलाउनु अपराधीको दर्जा पाउनुजस्तै हुन पुगेको छ । यद्यपि आज सभ्य बन्ने नाममा तेज्य बनाइँदै लगिएको व्रत बस्ने संस्कृतिबारे लेख्ने धृष्टता गरेको छु । व्रतको अर्थ पहिला ...