Skip to main content

कानीन : कन्याको छोरो

 







केही वर्षअघिको कुरा । काठमाडौंमा रहेकी एक जना सहृदयी साथीको कोठामा बस्न गएकी थिएँ । बेलुकीको खानपिनपछि त्यो रात हामीले अनेक सामाजिक विषयमा अन्तरंग कुरा गर्दै आधा रात बितायौं ।

कुरैकुरामा साथीले वैवाहिक जीवनमाथिको आफ्नो अरुचि व्यक्त गरी । भनेकी थिई, ‘यार, म त बिहे गर्दिनँ । दुई वर्षमा विच्छेद गर्नुपर्ने सम्बन्ध म किन गासौं ?’ ऊ एक छिन रोकिई र उत्साहित हुँदै भनी, ‘विवाह नै नगरे पनि बच्चाचाहिँ जन्माउँछु ।’
उसको आवाजमा एकप्रकारको निश्चयभाव थियो । मैले भनेँ, ‘कसैले तँलाई रोक्न सक्दैन । यसमा तैँले जितिस् भने समाजलेतँलाई देवी भनेर पूजा गर्छ, हारिस् भने चरित्रहीन मान्छेका रूपमा चित्रण गरिरहनेछ ।’

यो कुरा उसलाई मैले वैदिककालीन नारीको दृष्टान्तसहित सुनाएकी थिएँ ।
त्यस संवाद यताको समयमा नेपालमा शुक्रकीट बरो (मागेर) गरेर पनि बच्चा जन्माउन पाउने कानुनी प्रबन्ध हुँदै छ । त्यो कानुन संसद्मा छलफल हुनै बाँकी छ । तर, के यस्तो प्रचलन अब समाजमा सुरु हुन लागेको हो ? यस्तो प्रचलनलाई पारिवारिक विखण्डन मान्नुपर्ने हो कि हाम्रो प्राचीन सभ्यतामै यस्ता चलन थिए ? एकपटक यतातिर विमर्श गर्नु आवश्यकता छ ।

आज हामीलाई एकदमै नयाँ लागे पनि पाँच/सात हजार वर्षपहिलेका वैदिक ग्रन्थहरूमै कुमारी आमाबारे उल्लेख छ । परिवार संस्कृतिलाई व्यवस्थित गर्ने क्रममा बनेका संहितासँगै यस्तो प्रचलनले सामाजिक मान्यता गुमाउँदै गयो । त्यसक्रममा नारी जातिले आफ्नो स्वतन्त्रतामा अलि बढी नै कुर्वानी गर्नुपर्‍यो ।

बाबुको सामाजिक पहिचानबिना आमा बन्ने कुरा चलिरहँदा आज हरेकजसो परिवारभित्र किन विद्रोह छ भन्ने मनन गर्नुपर्छ । यसरी विद्रोह गरिरहेको तप्का नियालेर हिजो समाज विकास क्रममा परिवार किन बनेको थियो भन्ने विषयमा चर्चा गर्न जरुरी छ । परिवार नहुँदा पनि मान्छे शारीरिक सम्बन्धमा हुन्थे । यौनाचार सृष्टिसँगै जन्मियो र पारिवार प्रथा समाजको विकास क्रममा जन्मियो । त्यसबेला परिवार हुँदैनथे, तर बच्चा त जन्मिन्थे । लोग्ने–स्वास्नी भन्ने संस्था थिएन । तर, सृष्टि चलेकै थियो । यसरी रहँदा–बस्दा जन्मिएका बच्चाहरूले स्याहार नपाउने, आमाहरू सुत्केरीमै मर्ने, बच्चा हुर्काउने सहयोगी नहुँदा उसको सहज लालनपालन नहुने र समाज स्वस्थ तरिकाले अघि नबढ्ने समस्या ज्यादा हुन्थ्यो ।


सन्तान उत्पादनमा सहभागी दुई जना सँगै भएपछि बच्चा हुर्काउन सहज हुने, ‘आफ्नो’ परिवार भएपछि लालनपालन पनि सहज हुने, भौतिक जीवन व्यवस्थित हुने, परिवारमा रहेर भौतिक आवश्यकता पूरा गर्न सकिने भएकाले परिवारमा बस्ने संस्कृति अघि बढ्यो । यसै क्रममा सुरु भएको पारिवारिक परम्परा सात हजार वर्षसम्म चल्दै आएको छ । बिस्तारै विवाहइतर सम्बन्धलाई नैतिकताको कसीमा हेर्ने चलन चल्यो । यो परम्परा सुरु हुनुअघि यौनाचार र सन्तान उत्पादन नैतिक मूल्यभित्र समेटिएको थिएन ।

जब परिवार–संस्कृति थालनी भयो, तब त्यसलाई सामाजिक र सांस्कारिक मान्न थालियो । जो परिवारबाट बाहिर निस्क्यो, उसलाई सामाजिक मान्यता भाँडेको आरोप लगाइन थालियो । भलै त्यस्ता महिला–पुरुषलाई विद्वान् र विदुषीको स्थानमा राखेर आजैसम्म पनि पुजिन्छ । प्राचीन प्राकृत धर्मविपरीत नभएकाले र उनीहरूले आफ्नै पौरखले सामाजिक हैसियत कायम गर्न सकेकाले बिना–विवाह सन्तान जन्माउनेलाई आजसम्म पनि पञ्चकन्याका रूपमा पूजा गरिन्छ ।

प्राचीनकालका कुमारी आमाहरू सहजै वा त्यस्तो अधिकार पाएरै कुमारी आमा भए ? या उनीहरूले त्यसबापत सामाजिक कहर खेप्नुपर्‍यो ? एकपटक यसलाई पनि हेरौं ।
परिवारसम्बन्धी लिपिबद्ध भएको पहिलो मुलुकी ऐनमा कानुनी नागरिकको व्यवस्था थियो । यसले पनि समाजमा त्यसबेला कुमारी आमा थिए भन्ने बुझिन्छ । कुमारी आमाबाट जन्मिएको सन्तानलाई संस्कृत भाषामा कानीन भनिन्छ । शब्दहरू त्यसै बन्दैनन् । व्याकरणवेत्ता पाणिनिले आफ्नो अष्टाध्यायीमा कुमारी आमाको कोखबाट जन्मिएको सन्तानलाई कानीन भनिन्छ भनेर लेखेका छन् । कानीन संस्कृत शब्द हो । यसको अर्थ कन्याको छोरो भन्ने हुन्छ ।

अर्कोतिर समाजलाई मातृसत्ता र पितृसत्ता भनेर सत्ता–वर्गीकरण गर्ने गरिन्छ । तर, समाजमा न हिजो मातृसत्ता थियो, न आज पितृसत्ता छ । बरु समाज कहिले मातृप्रधान भयो भने कहिले पितृप्रधान । मातृप्रधान समाज लामो कालखण्ड चलेको थियो । यसलाई बुझ्न महाभारत र वैदिककाल हेरे पुग्छ । महाभारतमा पनि ‘कर्ण कानीन ब्यास’ भनी लेखिएको छ । यसको अर्थ हुन्छ— कर्ण र व्यास कुमारी आमाबाट जन्मिएका सन्तान हुन् ।

महाभारतका अरू केही अंश पनि हेरौं ।
माझीहरूका राजा केवटराजकी छोरी सत्यवती, जसले कुमारी छँदै पराशर मुनिसँगको संसर्गबाट व्यासलाई जन्म दिएकी थिइन् । महाभारतमा व्यास ऋषि भनेर चिनिने उनलाई सबैले पुज्य मानेका छन् । त्यसबेला पनि उनलाई सबैले सम्मान गर्थे । पछि सत्यवतीको विवाह शान्तनुसँग हुन्छ, जसबाट चित्रांगद र विचित्रवीर्य गरेर दुई सन्तान जन्मन्छन् । तर, विवाहपछि एकको अल्पायुमा र अर्कोको युद्धमा परेर मृत्यु हुन्छ । उनीहरूको विवाह अम्बिका र अम्बालिकासँग भैसकेको हुन्छ । दुवै अल्पआयुमै मरेपछि राजकाज चलाउन सन्तान चाहिएको हुन्छ ।

यस्तोबेला उनै सत्यवतीले आफ्नो विवाहभन्दा पहिले जन्मेको छोरा व्यासलाई दरबार झिकाउँछिन् र अम्बालिका र अम्बिकासँग समागम गर्न लगाउँछिन् ।

(यसलाई नियोग वा शुक्रकीट बरो भन्न सकिन्छ ।) अनि अम्बालिकाबाट धृतराष्ट्र, अम्बिकाबाट पाण्डु र दासीबाट विदुरको जन्म हुन्छ । (महाभारत, आदि पर्व, अंशावतरण खण्ड १०४ र १०५ अध्ययाय ) यसरी जन्माइएको बच्चालाई नियोग गरेर जन्माइएको भनिएको छ ।

अहिलेको हामीले भन्ने गरेको कुमारी आमा र शुक्रकीट बरो (मागेर या किनेर लिनु) गर्ने काम त्यहीबेला सहज प्रयोग प्रएको कुरा स्पष्ट हुन्छ । यस घटनामा सत्यवतीले कुमारी हुँदै आमा भएको कुरा सार्वजनिक गरिन् भने शुक्रकीट मागेर पनि बच्चा जन्माइएको अर्को घटना छ ।

सत्यवतीको मात्र होइन, कुमारी छँदै बच्चा जन्माएकी कुन्तीले पछि पनि अरूकै नियोग अर्थात शुक्रकीट मागेरै बच्चा जन्माएको उल्लेख छ । पाण्डुबाट बच्चा हुँदैन । र, देवताको अनुग्रहबाट पाँच पाण्डवको जन्म भएको उल्लेख छ ।

(महाभारत आदि पर्व अंशावतरण खण्ड अध्याय ११०)

कुमारीमै बच्चा जन्माउने अर्की आमा हुन् कुन्ती । कुन्तीले बाल्यकालमै दुर्वासा ऋषिबाट पाएको मन्त्र प्रयोग गर्दा सूर्यदेव कुन्तीसामु आए । वशीकरण गर्ने मन्त्र प्रयोग गरेर बोलाएपछि त्यसै फर्किन नमिल्ने भनेर कुन्तीलाई बाल्यकालमै सूर्यदेवले सन्तान दिएको र बच्चाको नाम कर्ण रहेको कथा छ । यसको अर्थ कुन्तीले कुमारी छँदै बच्चा जन्माएकी थिइन् । तर, बच्चा जन्मेपछि भने लोकनिन्दाबाट डराएकी उनले बच्चालाई बाकसमा हालेर गंगामा बगाउँछिन् ।

वेदमा उल्लिखित पुरुरवा र उर्वशी मातृप्रधान समाजका पात्र हुन् । बच्चा जन्माउनकै लागि गन्धर्वसम्प्रदायकी एक सुन्दरी ल्याइएको हुन्छ, जो उर्वशी नाम गरेकी अप्सरा हुन्छिन् । तिनै अप्सरासँग राजा पुरुरवा प्रेममा पर्छन् । वेदमा पुरुरवा र उर्वशीद्वारा प्रणयका कुरा उल्लेख छन् ।

प्रेममा परेका पुरुरवाले अप्सरालाई पुरुरवाको बच्चा जन्माइदिने सर्तमा चार वर्षको निम्ति जाया (सन्तान जन्माउन सम्झौताद्वारा ल्याइएकी स्वास्नी) को रूपमा आफ्नो घरमा ल्याएका हुन्छन् । चार वर्षपछि सर्तअनुसार उर्वशी बच्चा छोडेर जान्छिन् । तर, पुरुरवा भने अत्यन्त विलाप गर्छन् । (ऋग्वेद आठ अष्टक, पाँच अध्याय, १–४ वर्ग)
यसरी वैदिककालदेखि निश्चित समयका लागि स्वास्नी बनाएर सन्तान पाउनेदेखि सन्तानका लागि मात्र सम्बन्ध राख्ने सबै खालका प्रचलन सहज थिए भन्ने देखाउँछन् यी घटनाले । यस्ता घटनाले अहिलेभन्दा वैदिक र महाभारतकालमा हाम्रो समाज फराकिलो र उदार चिन्तनबाट निर्देशित थियो भन्ने देखिन्छ ।

हिन्दु सभ्यतामा मात्र होइन, पश्चिमी सभ्यतामा पनि कुमारी आमाहरू प्रशस्तै थिए । त्यसको एउटा उदाहरण हुन्— येशुकी आमा मरियम । इसापूर्व पहिलो शताब्दीकी गलीलको यहुदी समुदायकी महिला थिइन् येशुकी आमा । उनले कुमारी अवस्थामै गर्भधारण गरेकी थिइन् । उनको गर्भबारे थाहा पाएर हुन लागेको विवाह पनि भाँडिएको थियो । पछि गर्भ रहेकै अवस्थामा जोसेफसँग उनको विवाह भएको र येशुको जन्म भएको प्रसंग बाइबलमा छ (बाइबल, नयाँ करार मत्तिको, एक अध्याय, १८–२४ पद ) । मरियमको मत्ताबारे कुरानमा पनि उल्लेख छ । जसले समाजको धारणा नै परिर्वतन गर्ने काम गरिन्, उनी जिससकी आमा थिइन् कुरानमा लेखिएको छ ।

ख्रिष्ट मात्र होइन, तत्कालिक ग्रीक, रोमन, सिरियन, पर्सियन, अफ्रिकन र मिश्री सभ्यताका देवता र नायकहरू स्त्रीबाट र देवता पुरुषबाट जन्मिएको देखाउँछन् । किनकि कुमारी आमाबाट बच्चा जन्मिएपछि सो पुरुषको खोजी गर्नुभन्दा अथवा पुरुष देखाउन नसकेको र देखाउन नचाहेको अवस्थामा बाबुचाहिँ अलौकिक भएको देखाइने चलन पूर्वीय सभ्यतामा मात्र होइन, पश्चिमा सभ्यतामा पनि देखिन्छ । त्यसरी बच्चा जन्माउनेलाई अहिलेजस्तो अपराध नभएर, अलौकिक शक्ति सञ्चय भएका स्त्रीको रूपमा पूजा गरिन्थ्यो ।

आकाश देवताका रूपमा उपासना गरिने मिश्री सभ्यताका एक प्रमुख देवता होरस पनि कुमारी आमाबाट जन्मिएका थिए । उनकी आमा इसिरिस थिइन् र बाबुचाहिँ देवता थिए भनिएको छ । यसको अर्थ कुमारी आमाबाटै जन्मिएका थिए होरस । पश्चिमका दार्शनिक प्लेटो, जसलाई देवताकै सन्तानको रूपमा ग्रीक सभ्यतामा वर्णन गरिएको छ— उनी इसापूर्व ४२९ मा एथेन्समा कुमारी आमाबाट जन्मिएका थिए ।

पश्चिमका विश्वविजेता भनेर चिनिने अलेक्जेन्डरलाई पनि देवताका छोरा भनेर चिनाइएको छ । जो पानी पार्ने, वज्र धारण गरेको, उर्वरताको देवताको रूपमा जुपिटर नामले चिनिन्छन् । रोमन मिथका नायक हर्कुलस देवताको सहयोगीको रूपमा देखापरेका छन् । यी दुवैका आमा मानिस र बाबुचाहिँ देवता हुन् भनी उल्लेख छ । डियोनाइसिस रोम ग्रीक सभ्यतामा कुमारी आमाबाट जन्मेका अर्का देवता हुन् ।

यी थिए विवाह परम्परा सुरु हुँदै गरेको समयमा महिलाको सामाजिक अवस्था । तर, जब पूर्ण रूपमा विवाह परम्परा सुरु भयो, तब आइमाईका स्वतन्त्रता पुरुषबाट नियन्त्रित हुँदै गए । नेपालमा लिच्छविकालदेखि राणाकालसम्म आइपुग्दा ५२ वटीसम्म स्वास्नी राख्ने चलन समाजमा थियो । परिवार संस्कृति बसेपछि र अझ त्यसमा पुरुषप्रधान बन्दै गएपछि पारिवारिक प्रथा आइमाईका लागि बन्धनयुक्त बन्दै गयो । उनीहरूको स्वतन्त्रता र शारीरिक स्वामित्वसमेत नियन्त्रित हुँदै गयो । हाम्रो प्राचीन समाजमा जस्तो स्वतन्त्रता र खुलापन थियो, त्यो बाँधिँदै गयो । तर, आज हामी समाजमा महिलाको स्थान कमजोर हुनुमा हाम्रो प्राचीन समाज र प्राचीन शास्त्रलाई दोषी ठान्छौं । वैदिक र ऐतिहासिक कालखण्डका ग्रन्थहरूको अध्ययनले हाम्रा प्राचीन मान्यताहरू स्त्रीद्वेषी थिएनन् । बरु त्यसपछि चलाइएका सामाजिक प्रथाहरूले महिलालाई पछि पारेको छ ।

बिहे नगरी सन्तान जन्माउने मेरी सखीको त्यस रातको अठोटलाई मैले वैदिककालीन नारी चरित्रको पुनरावृत्तिका रूपमा लिएकी छु ।


Comments

Popular posts from this blog

हाम्रो भान्सा औषधालय, आमाहरु चिकित्सक ! बिनु पोखरेल

  समय मानिसको गुरु रहेछ । एउटा समयमा रुढ ठानेर परित्याग गरिएका हाम्रा सामाजिक आचार-व्यवहारलाई अर्काे समयले परीक्षण गरी गतिशील विज्ञानमा बदलिदिंदो रहेछ । बाल्यकालमा आफैंले रुढ ठानिएका सामाजिक र पारिवारिक पद्दतिहरु आज फर्केर हेर्दा तिनको प्रमाणिक वैज्ञानिकता पुष्टि हुँदै गएपछि म यस निष्कर्षमा पुगेको छु । समयले सिकाएका र अध्ययनले सावित गरेका केही समाजिक पारिवारिक आचार–व्यवहारबारे यो आलेखमा केही लेख्ने छु । हाम्रा हजुरआमा हजुरबुवाका समयको गृहस्थ जीवनको प्रायः दैनिकी यस्तो थियो । हर घरमा बिहान पूजा हुन्थ्यो । हजुरबुवा, आमाहरु ब्रह्म मुहूर्त (घाम झुल्कनुभन्दा अघिको समय)मै उठ्नुहुन्थ्यो । हर टोलमा एउटा वर पीपल रोपिएको हुन्थ्यो । हजुरबुवा हजुरआमाहरु बिहानै नुहाएर सबै तयारी भएपछि हरेक दिन घामको पहिलो झुल्को कुरेर पीपलको बोटमा पानी चढाउन निस्कनुहुन्थ्यो । चौबाटोको पीपल र घरको आँगनमा रोपिएको तुलसीको बुट्यानमा पानी चढाएर आएपछि पञ्चपात्रोमा तुलसीको पात, तील, कुश मिसाएको पानी सबैलाई खान दिनुहुन्थ्यो । त्यो पञ्चपात्रो तामाको हुन्थ्यो । तामाको भाँडामा राखेको पानी तामाकै चम्चाले उभाएर दिनुहुन्थ्यो ...

स्वास्नी अर्थात् सुवासिनी– बिनु पोखरेल

  महिलालाई देवीको रूपमा अथ्र्याइएको शब्द हो– आइमाई भर्खरै समाजशास्त्रकी एकजना प्राध्यापिकाले ‘स्वास्नीमान्छे खराब हुन्छन्’ भन्ने भावको एउटा ट्विट गरिन् । ‘आइमाई’ शब्द राखेर गरिएको त्यस ट्विटका कारण ट्विटरमा धेरै दिन बहस चल्यो । आफूले ‘आइमाई प्रवृत्ति’मा जोड दिएर ट्विट लेखेको उनको तर्क थियो । कसैले उनलाई ‘आफैँ आइमाई भएर आइमाई अर्थात् महिलालाई गाली गरेको’ आरोप लगाए भने कसैले ‘आफैँलाई होच्याउने गरी प्रस्तुत गरेको’ भनेर गाली गरे । कत्तिले ‘आइमाई’ शब्द नै हेप्ने शब्द भएको भन्दै यस्तो नलेख्न सुझाए । एकजनाले ‘आइमाई’ शब्दको अर्थ के हो, यसमा विरोध र समर्थन किन हुन्छ भन्ने प्रश्न गर्दै प्रस्ट्याइदिन मलाई आग्रह गरे । केहीले त सीधै म्यासेज पठाएर ‘आइमाई’ भन्न किन नहुने भन्दै प्रश्न गरेका थिए । स्त्री जाति बुझाउने केही शब्द, यसबारे चलेको बहस/विरोध र यसको शाब्दिक अर्थबारे यो लेखमा छलफल गर्ने प्रयास गरेकी छु ।  ००० प्रथमतः बहसमा रहेको ‘आइमाई’ शब्दको अर्थ खोजौँ । भारतका मराठीहरू आमालाई ‘आई’ भन्छन्,  उत्तर भारत र नेपालको दक्षिणमा आमालाई ‘माई’ भनिन्छ । नेपालको पहाडी भेगमा देवीलाई ‘माई’...

के व्रत संस्कृति रुढीवाद हो ? –बिनु पोखरेल

    पोहोर साल ‘यसपालीको तीज, नो ब्रत प्लिज’ भन्ने गीत बजारमा आयो । सामाजिक सञ्जालमा स्वघोषित दोस्रो दर्जाको दावी गर्दै ‘महिलावादी’ समूहले त्यसलाई अग्रपंक्तिमा उभिएर समर्थन जनायो ।  उक्त समूह सामाजिक व्यवस्थाका गुणदोष केलाउने भन्दा पनि नेपालका सांस्कृतिक मान्यताहरुमाथि आँखा चिम्लेर प्रहार गरिरहेकै हुन्थ्यो । लामो समयदेखि तीजमा व्रत नबस्ने अभियान चलाइरहनु भएका उहाँहरुको लागि यो गीत घृणा प्रवद्र्धनको औषधि सावित भइरहेको थियो ।  व्रतले महिलाहरुलाई अघि बढ्न दिएन । व्रतकै कारण सबै विकास ठप्प भयो भन्ने उहाँहरुको निष्कर्ष छ । मूलधारको भनिएको मिडिया पनि मौलिक संस्कृतिको अस्वीकारलाई क्रान्ति नै ठान्छ । त्यसैले मिडियामा गीतसँगै नो व्रत भन्दै मुठ्ठी कसेका आलेख पनि बाक्लै छापिए ।  विमर्शका लागि ठाउँ दिने भन्दा अभियानमा रमाउने र एकथरी विचारलाई निषेध गर्ने अमुक् सञ्चार माध्यमको परिपाटीले उनीहरुले नरुचाएका विषयमा कलम चलाउनु अपराधीको दर्जा पाउनुजस्तै हुन पुगेको छ । यद्यपि आज सभ्य बन्ने नाममा तेज्य बनाइँदै लगिएको व्रत बस्ने संस्कृतिबारे लेख्ने धृष्टता गरेको छु । व्रतको अर्थ पहिला ...