Skip to main content

‘रैबारे मरिगया पन, रैबार नमरिजाओस’ – बिनु पोखरेल




अतिरञ्जित र झूटो समाचारले सञ्चारमाध्यममाथिको विश्वसनीयता मात्रै गुम्दै छैन, समाजलाई नै अराजकतातर्फ धकेल्ने खतरा समेत देखिएको छ।

कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भेगमा सूचना वा सन्देशलाई रैबार र त्यस्तो सूचना ल्याउने मान्छेलाई रैबारे भनिन्छ । सूचनाको महत्व स्थापित गर्ने त्यहाँ प्रचलित एउटा वाक्यांश ‘रैबारे मरिगया पन, रैबार नमरिजाओस’ को अर्थ हो– सन्देशवाहकको मृत्यु भइहाले पनि सन्देश नमरोस् ! यो वाक्यांशले समाचार सत्य नै हुन्छ भन्ने ठान्छ ।


हिजो मानिस आफैं सन्देशवाहक हुन्थ्योे । अहिले हामी सञ्चारको उच्चतम विकासको अवस्थामा आइपुगेका छौं । योसँगै सञ्चारमाध्यमका लागि सत्य सूचना सम्प्रेषण गर्ने चुनौती थपिएको छ । पछिल्लो समय सूचना प्रवाहमा व्यापकता आएसँगै स्वार्थपूर्ण र गलत समाचार (फेक न्यूज) को प्रवाह पनि बढेको छ ।


स्वार्थअनुकूल कुनै पनि घटनाको आधा पाटोलाई प्रवर्द्धन गर्ने र अर्काे पाटोलाई मार्ने प्रवृत्ति बढेको छ । डिजिटल मिडियाको बाढीसँगै सूचना एकपक्षीय, संशोधित र निर्देशित हुन्छन् भन्ने भावना आम पाठकमा पर्न थालेको छ । सञ्चारमाध्यमका खबरमाथि नागरिक विश्वासमा शंका आउनु लोकतन्त्रका लागि राम्रो संकेत होइन ।


एउटा दृष्टान्तः कञ्चनपुरमा १३ वर्षीया निर्मला पन्तको बलात्कारपछि हत्या भयो । तर, यस्तो संवेदनशील विषयमा समेत अधिकांश समाचार अनुमान र हचुवाका भरमा आए । यो प्रकरणमा आएका कतिपय समाचारमा हुँदै नभएको डान्सबार खडा गरियो, नब्याएको भैंसी ब्यायो भनियो, बम दिदीबहिनीलाई अपराधीकै शैलीमा अगाडि सारियो ।


यीमध्ये कतिपय सूचना प्रहरी अनुसन्धानको लापरबाहीबाट सिर्जित वा चुहिएका थिए । तर, यहाँनेर प्रश्न उठ्छ– आधुनिक सञ्चारकर्मी र सञ्चारगृहहरू सूचनाको विश्वसनीयतामाथि जाँच गर्नबाट किन चुके ?


चियापसलमा सुनिएकादेखि विभिन्न आग्रह–पूर्वाग्रहबाट सिर्जित हल्लाका आधारमा समाचार तयार पारियो । तथ्यलाई बेवास्ता गरी कसैलाई दोषी वा निर्दाेष देखाउने आग्रह राखेर बनाइएका समाचारले केहीबेरका लागि स्वार्थ त पूरा होला तर यसले समग्र मिडियाजगतकै बदनामी गराउँछ ।


समाचारले आफ्नो मुख्य चरित्र यथार्थ र विश्वसनीयता गुमाउँदा त्यसको दूरगामी प्रभाव समाजले भोग्नुपर्छ । यस्ता समाचारले एकातिर मुख्य अपराधीलाई जोगाउँछ भने अर्कोतिर निरपराधलाई भीडले मार्ने (मब लिञ्चिङ) सम्मको अवस्था आउन सक्छ ।


अर्काे एउटा दृष्टान्तः गएको मंसीरमा महानगरीय अपराध अनुसन्धान महाशाखा, टेकूको टोलीले झूटो समाचार लेखेको भन्दै एउटा अनलाइन पत्रिकाका सम्पादकलाई पक्राउ गर्‍यो ।


‘चितवनको कृष्ण चोकमा नेकपाका अध्यक्ष पुष्पकमल दाहालमाथि खुकुरी प्रहार भएको’ भन्ने झूटो समाचार प्रकाशन गरेको आरोपमा ती सम्पादक पक्राउ परेका थिए । तर, त्यही झूटो समाचार धेरै पढिएको समाचारको सूचीमा परेको रहेछ । यसको अर्थ धेरै पाठकले झूटो खबर पढेछन् । जब यस्ता खबरका आधारमा आम धारणा बन्छ, तब झन् ठूलो समस्या आउँछ ।


धेरै पढिएका समाचारमै परेको थियो– ‘राष्ट्रपतिलाई रु.१८ करोडको महँगो गाडी ।’ यस्तै आशयका हेडलाइनमा मूलधारका धेरै सञ्चारमाध्यमले समेत समाचार बनाए । समाचारमा आएका आम प्रतिक्रिया स्वाभाविक रूपमा नकारात्मक थिए । तर के यथार्थ, समाचारमा आए जस्तै थियो त ?


सरकारले पछि स्पष्ट पार्‍यो, भीभीआईपी सुरक्षा कार्यक्रम अन्तर्गत खरीद गर्न लागिएका ती गाडी खरीदको प्रक्रिया अघिल्लो सरकारकै पालामा शुरू भएको रहेछ । महत्वपूर्ण विदेशी अतिथिका लागि समेत उपयोग हुने त्यस्ता गाडी नहुँदा गएको भदौमा काठमाडौंमा भएको बिमस्टेक सम्मेलनमा आएका अतिथिका लागि भारतबाट भाडामा गाडी ल्याउनु परेको थियो ।


खरीद गर्ने भनिएको कारगेडमा अतिथि चढ्ने सुविधासम्पन्न गाडीदेखि सुरक्षा निकायका लागि आवश्यक मोटरसाइकलसम्म पर्दोरहेछ । खबरको वास्तविक पक्ष छोपिंदा राष्ट्रपतिको व्यक्तिगत जीवनमाथि नै अनेक आक्षेप लगाइयो ।


यसरी सिंगो मिडियाजगतमाथि अविश्वास पैदा हुने गरी समाचार आउनुका केही संरचनागत कारण छन् । तीमध्येको एक कारण हो, मिडियामाथि लगानीकर्ताको अति नियन्त्रण । मिडियाबाट पैसा कमाउन चाहने लगानीकर्ताले त्यसमा लोककल्याणको दायित्व पनि हुन्छ भन्ने बिर्सिदिन्छन् ।


अरू उद्योग व्यवसाय पनि गरिरहेका लगानीकर्ताले ती उद्योग व्यवसायको सफलताका लागि मिडियाको उपयोग गर्न थाल्छन् र समाचारमा विचलन आउँछ । त्यस्तै समाज वा मुलुकमा आफू अनुकूलको मनोविज्ञान तयार पार्न शक्तिशालीहरूले मिडियाको गलत उपयोग गर्छन् ।


पैसाको आकर्षणमा मिडिया उनीहरूको हतियार बनिदिन्छ । केही डिजिटल मिडियाहरूमा पाठकको संख्या बढाउन पनि घटनालाई अतिरञ्जित गर्ने र नकारात्मक समाचार बढी फैलाउने मानसिकता छ ।


सञ्चारमाध्यमको विश्वसनीयतामा प्रश्न उठेपछि, समाचारमा आएका कुरा जनताले पत्याउन छोडेपछिको समाज कस्तो होला ? सरकार, विभिन्न निकाय र राज्यकै खबरदारी गर्ने मिडियाको शक्ति सकिएपछिको लोकतन्त्र कस्तो होला ? बेलैमा सोचौं ।


मंगलबार, १७ पुस, २०७५, १६:२६:२५ मा प्रकाशित

https://www.himalkhabar.com/news/10441

Comments

Popular posts from this blog

हाम्रो भान्सा औषधालय, आमाहरु चिकित्सक ! बिनु पोखरेल

  समय मानिसको गुरु रहेछ । एउटा समयमा रुढ ठानेर परित्याग गरिएका हाम्रा सामाजिक आचार-व्यवहारलाई अर्काे समयले परीक्षण गरी गतिशील विज्ञानमा बदलिदिंदो रहेछ । बाल्यकालमा आफैंले रुढ ठानिएका सामाजिक र पारिवारिक पद्दतिहरु आज फर्केर हेर्दा तिनको प्रमाणिक वैज्ञानिकता पुष्टि हुँदै गएपछि म यस निष्कर्षमा पुगेको छु । समयले सिकाएका र अध्ययनले सावित गरेका केही समाजिक पारिवारिक आचार–व्यवहारबारे यो आलेखमा केही लेख्ने छु । हाम्रा हजुरआमा हजुरबुवाका समयको गृहस्थ जीवनको प्रायः दैनिकी यस्तो थियो । हर घरमा बिहान पूजा हुन्थ्यो । हजुरबुवा, आमाहरु ब्रह्म मुहूर्त (घाम झुल्कनुभन्दा अघिको समय)मै उठ्नुहुन्थ्यो । हर टोलमा एउटा वर पीपल रोपिएको हुन्थ्यो । हजुरबुवा हजुरआमाहरु बिहानै नुहाएर सबै तयारी भएपछि हरेक दिन घामको पहिलो झुल्को कुरेर पीपलको बोटमा पानी चढाउन निस्कनुहुन्थ्यो । चौबाटोको पीपल र घरको आँगनमा रोपिएको तुलसीको बुट्यानमा पानी चढाएर आएपछि पञ्चपात्रोमा तुलसीको पात, तील, कुश मिसाएको पानी सबैलाई खान दिनुहुन्थ्यो । त्यो पञ्चपात्रो तामाको हुन्थ्यो । तामाको भाँडामा राखेको पानी तामाकै चम्चाले उभाएर दिनुहुन्थ्यो ...

स्वास्नी अर्थात् सुवासिनी– बिनु पोखरेल

  महिलालाई देवीको रूपमा अथ्र्याइएको शब्द हो– आइमाई भर्खरै समाजशास्त्रकी एकजना प्राध्यापिकाले ‘स्वास्नीमान्छे खराब हुन्छन्’ भन्ने भावको एउटा ट्विट गरिन् । ‘आइमाई’ शब्द राखेर गरिएको त्यस ट्विटका कारण ट्विटरमा धेरै दिन बहस चल्यो । आफूले ‘आइमाई प्रवृत्ति’मा जोड दिएर ट्विट लेखेको उनको तर्क थियो । कसैले उनलाई ‘आफैँ आइमाई भएर आइमाई अर्थात् महिलालाई गाली गरेको’ आरोप लगाए भने कसैले ‘आफैँलाई होच्याउने गरी प्रस्तुत गरेको’ भनेर गाली गरे । कत्तिले ‘आइमाई’ शब्द नै हेप्ने शब्द भएको भन्दै यस्तो नलेख्न सुझाए । एकजनाले ‘आइमाई’ शब्दको अर्थ के हो, यसमा विरोध र समर्थन किन हुन्छ भन्ने प्रश्न गर्दै प्रस्ट्याइदिन मलाई आग्रह गरे । केहीले त सीधै म्यासेज पठाएर ‘आइमाई’ भन्न किन नहुने भन्दै प्रश्न गरेका थिए । स्त्री जाति बुझाउने केही शब्द, यसबारे चलेको बहस/विरोध र यसको शाब्दिक अर्थबारे यो लेखमा छलफल गर्ने प्रयास गरेकी छु ।  ००० प्रथमतः बहसमा रहेको ‘आइमाई’ शब्दको अर्थ खोजौँ । भारतका मराठीहरू आमालाई ‘आई’ भन्छन्,  उत्तर भारत र नेपालको दक्षिणमा आमालाई ‘माई’ भनिन्छ । नेपालको पहाडी भेगमा देवीलाई ‘माई’...

के व्रत संस्कृति रुढीवाद हो ? –बिनु पोखरेल

    पोहोर साल ‘यसपालीको तीज, नो ब्रत प्लिज’ भन्ने गीत बजारमा आयो । सामाजिक सञ्जालमा स्वघोषित दोस्रो दर्जाको दावी गर्दै ‘महिलावादी’ समूहले त्यसलाई अग्रपंक्तिमा उभिएर समर्थन जनायो ।  उक्त समूह सामाजिक व्यवस्थाका गुणदोष केलाउने भन्दा पनि नेपालका सांस्कृतिक मान्यताहरुमाथि आँखा चिम्लेर प्रहार गरिरहेकै हुन्थ्यो । लामो समयदेखि तीजमा व्रत नबस्ने अभियान चलाइरहनु भएका उहाँहरुको लागि यो गीत घृणा प्रवद्र्धनको औषधि सावित भइरहेको थियो ।  व्रतले महिलाहरुलाई अघि बढ्न दिएन । व्रतकै कारण सबै विकास ठप्प भयो भन्ने उहाँहरुको निष्कर्ष छ । मूलधारको भनिएको मिडिया पनि मौलिक संस्कृतिको अस्वीकारलाई क्रान्ति नै ठान्छ । त्यसैले मिडियामा गीतसँगै नो व्रत भन्दै मुठ्ठी कसेका आलेख पनि बाक्लै छापिए ।  विमर्शका लागि ठाउँ दिने भन्दा अभियानमा रमाउने र एकथरी विचारलाई निषेध गर्ने अमुक् सञ्चार माध्यमको परिपाटीले उनीहरुले नरुचाएका विषयमा कलम चलाउनु अपराधीको दर्जा पाउनुजस्तै हुन पुगेको छ । यद्यपि आज सभ्य बन्ने नाममा तेज्य बनाइँदै लगिएको व्रत बस्ने संस्कृतिबारे लेख्ने धृष्टता गरेको छु । व्रतको अर्थ पहिला ...