Skip to main content

शब्द होइन चेत बदलौं- आँखा नहुनु दृष्टिहीन हुनु हो ? –बिनु पोखरेल





 काकाको ब्रेन ट्युमरको अपरेसन गर्नु पर्ने भएर पोहोर कात्तिक दोस्रो सातादेखि झण्डै तीन हप्ता वीर अस्पतालको बसाइमा थिएँ । अस्पताल बसाइकै कारण घरमा थुप्रिएका पुस्तकहरुसँग पनि केही समय म टाढै रहन पुगेँ ।


आदत बसेपछि पुस्तकहरुसँग टाढा रहनु पनि एकप्रकारको छटपटी । तर, अस्पतालको बसाइ न हो, विस्तरामा सुतेका विरामीको क्रन्दन, उनीहरुले आफ्नै सुरमा बर्बराएको सुन्दा कितावमा त्यस्ता कुरा कसरी पाइन्थ्यो र जस्तो पनि लाग्ने ।

बेडमा सुतेका हरेकसँग एउटा कथा, सुतेकालाई कुरेर बस्नेहरुको एउटा अलग्गै संसार । त्यहाँ भेटिने हरेकसँग एउटा संसार । हरेक एउटा मान्छे, एउटा संसार ।


विरामी कुरुवा बस्ने ठाउँ, लिफ्ट, बाहिर चिया पिउने ठाउँ, सबैतिर भेटिने मान्छे प्रायः उही । धेरैजसो अनुहारमा बेचैनी भाव भरिएका, हतारमा रहेका नै भेटिन्थे । तिनीहरु मध्ये कसोकसो एकजना बहिनीमा भने मेरो दृष्टि परिरहन्थ्यो ।

अलिदिनको बसाइपछि आँखा नदेख्ने ती बहिनीसँग बाक्लै हेलमेल भयो । हरेक प्रश्नमा उनको उत्तर दार्शनिकको झैं लाग्ने भएकाले उनीतिर ध्यान खिचिएको थियो । उनको कुरा गराई सानोठूलो प्रवचन जस्तै लाग्थ्यो ।

उनी कहिले लेखनाथ पौड्यालको कालमहिमा कविता ‘भाका भुल दया क्षमा र ममता शन्तोष जान्दैन त्यो’ कण्ठै सुनाउँथिन्, कहिले जीवन विज्ञानका कुरा गरेर हामीलाई विरामी कुर्न बसेको बिर्साइदिन्थिन् । त्यहीँ थाहा भयो उनी पनि श्रीमानकाे ब्रेन ट्यूमर भएर शल्यक्रिया गराउन लिएर आएकी रहिछन् ।

यो पटकसँगै तीन पटक भएछ श्रीमानको ब्रेनट्युमरको शल्यक्रिया गरेको । तर अब चाहिँ बाँच्ने आशा छैन भनेर उनी डाक्टरकै शैलीमा सुनाउँथिन् त्यहाँ ।

उनी यस्तो आकर्षण भइन् कि विरामी कुरुवाहरु उनलाई सुन्न भेला हुन्थे । उनका कुरा सुनेर नसोधी थाहा भयो, उनको काखमा एउटा दूधे बच्चा रहेछ । खुट्टा खोच्याउने रहेछन् उनका श्रीमान् । तर उनी आँखा देख्ने हुनाले श्रीमतिलाई डोहाेर्‍याउँथे अस्तिसम्म । उनी मधुर स्वरमा गीत गाउँथिन् । यसैगरी चलेको रहेछ जीवन । तर आज सात महिनाको अन्तरमा श्रीमान मर्दैछन् भन्ने कुराको जानकारी थियो उनलाई ।

०००

एकदिन मैले उनलाई लिफ्टमा भेटेँ । हातमा ठूलो झोला पनि थियो । मैले ‘जान लाग्नु भयो’ भनेर सोधेँ । उनले बोलीबाटै चिनिन् र भनिन्- ‘हो त, तपाईंको काकालाई त राख्छ होला अझै, हाम्रो त बाँच्ने सम्भावना सुन्य छ रे त्यसैले विदा दियो ।’ यति कुरा उनले हल्कासँग भनिन् ।

लिफ्टमा भएकाहरु पनि उनको कुरा चकित भएर सुनिरहेका थिए । जीवन प्रतिको उनको बुझाइ कस्तो थियो भने उनी यस्तो अवस्थामा पनि जीवनमा जे आइपर्छ त्यो सहजै स्वीकार गर्नुपर्छ भन्ने उपदेश अरुलाई दिँदैछिन् । उनलाई सम्झाउन इच्छा गर्नेहरु सबै उनको पीडामा उनीसँग पो पीडा सामना गर्ने कुरा सिकिरहेका ।

उनले यस्तो कुरा पनि सजिलोसँग भनिन्, ‘अहिले उसलाई मर्छ भनेर अस्पतालले पठायो । हामी हरेक पनि त मर्ने दिन कुरिरहेका छौं नि । जीवन लिएर आएपछि, बस् मर्नको लागि तयारी अवस्थामा रहने न हो ।’ उनका यस्ता कुराले मलाई निधार समाउने बनाउँथ्यो ।

बाहिरी संसार हेर्ने आँखा बन्द भए पनि भित्री दृष्टि कति फराकिलो उनको ? उनका कुरा सुन्दा साँच्चै शरीरका रौं ठाडा हुन्थे ।

भुइँ तल्लामा झरेपछि पनि म उनीहरु निस्कने बाटोसम्म पछिपछि गएँ । उनको यो धैर्य, आत्मबल र साहस देखेर हौसिँदै उनलाई ढाडमा थप्थपाउँदै मैले भनेँ, ‘यतिका दिनसम्म त म तपाईंको फ्यान नै भएँ । तपाईं यदि अन्धी नहुनु भएको भए बाहिरको संसारमा दौडिएका मान्छेहरुमा सबै भन्दा अघि हुनुहुन्थ्यो होला है ?’

मैले अनायासै भनेको अन्धी शब्दले उनलाई ठूलो चोट परेछ । अघि सन्तजस्ती देखिएकी उनी सनक्क भइन् र भनिन् – ‘अन्धी भन्ने ? अरु नै भने हुदैंन ?’ उनको भनाईले उनी मुर्मुरिएको प्रष्टै देखिन्थ्यो ।

उनको अनुहारको क्रुद्ध रेखाले मलाई सतर्क बनायो । मैले सानो स्वरमा भने– ‘के भन्नुपर्थ्याे , भन्नु त ?’

उनले भनिन्- दृष्टिविहीन भन्नुस् । अन्धी भन्न पाइँदैन ।

मैले तत्काल सोधेँ- ‘दृष्टिविहीनको अर्थ थाहा छ तपाईंलाई ?’

उनी बोलिनन् ।

अव प्रवचन दिने पालो मेरो थियो । मैले उनलाई भनेँ, – ‘अन्धो भनेको आँखा मात्रै नदेख्ने, बाहिरको संसार देख्ने आँखा खुला नभएको, भौतिक संसार मात्र देख्न नसक्ने । दृष्टि भनेको आँखाले हेर्ने मात्र कुरा होइन । दृष्टि भएपछि आँखा नहुनेले पनि भित्रको भावहरु देख्न सक्छ । तपाईं आफ्नो भोगाईबाट यति धेरै कुरा बुझ्ने भइसक्नु भएको छ, तपाईंको त्यो दृष्टि हो । अनि तपाईं कसरी दृष्टिहीन ?’

मेरो कुरा सुनेर उनी छक्क परिन् । एकछिन् यताउता मुन्टो हल्लाइन्, अनि मुसुक्क हाँसेर भनिन्- ‘मलाई त दृष्टिहीनको अर्थ नै थाहा थिएन । दृष्टिविहीन भन्नुपर्छ भन्नु राम्रै होला भनेर त्यही ठीक लाग्थ्यो ।’ अघि भर्खरसम्म झर्केकी उनी हास्न थालिन् र भनिन्– ‘अन्धो भन्नु नै सहि रहेछ, ल अब अन्धो नै भन्न पर्‍यो ।’

हामीबीच छलफल हुँदैथियो । उनी यस विषयमा थप केही भन्न खोज्दै थिइन् । त्यहीबेला उनका आफन्तले सामान गाडीमा कसेर घर जान बोलाए । उनी गएँ है भन्दै हात हल्लाउँदै हिडिन् ।

०००

उनीसँग त्यति कुरा गरेपछि मेरो मन पनि अन्धो र दृष्टिहीन, यी दुई शब्दको भिन्नतामै घुमिरह्यो । घर फर्केर मलाई अन्धो र दृष्टिहीनको अर्थ खोज्न मन लाग्यो ।

मैले शब्दकोश पल्टाएँ र ती शब्दका भावहरुतिर ध्यान लगाएँ । अन्धो संस्कृत शब्द अन्धबाट आएको रहेछ । अन्धमा ओ प्रत्यय लागेर अन्धो भएको हो । अन्धको अर्थ हुन्छ– आँखा भएर पनि नदेख्नु, अंध्यारो देख्नु, बाहिरी संसार देख्न नसक्नु, बाहिरी संसार देखिने प्वाल टालिनु । अर्थात् आँखाका माध्यमबाट नदेख्नु ।

( पेज ४९, नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा प्रतिष्ठान,२०६९)

अब दृष्टिविहिनको अर्थ हेरौं । दृष्टिविहीन पनि संस्कृत शब्द हो । दृष्टिविहीन दुई शब्द समास भएर बनेको छ, दृष्टि र विहीन । दृष्टि भनेको देख्न सक्ने क्षमता त छंदैछ, त्यसमाथि भाव, वृत्ति, शक्ति उद्देश्य, योजना, केही सोच्ने क्षमता समेत भएको हो । विहीन भनेको नभएको । समग्रमा भन्दा भित्री, बाहिरी कतै पनि देख्न, सोच्न, उद्देश्य लिन, योजना बनाउन नसक्ने, कुनै क्षमता नभएको भावशून्य मान्छे भन्ने हुन्छ । जसको अर्थ आँखा हुनु वा नहुनुसँग मात्रै सीमित छैन ।

(पेज १२३, नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा प्रतिष्ठान,२०६९)

यति अर्थ हेरेपछि अब यसरी सहि अर्थ लाग्ने शब्दलाई गलत बनाएर झनै अर्को अर्थ लाग्ने शब्दको प्रयोगप्रति टिठ लागेर आयो । सही अर्थ दिने शब्दलाई विस्थापन गर्नुमा नै सम्मान महसुस गर्ने गलत शिक्षा विस्तार भइरहेको छ हाम्रो समाजमा । यस्तो अभियान नै चलेको छ । अन्धो भने अपमान हुन्छ, दृष्टिविहीन भने सम्मान हुन्छ भन्ने अभियानमा को छन् त ? नेता, वकिल, पत्रकार, एनजीओकर्मी, अभियन्ता सबै । समाजका अगुवा भनिने छानिएकै मान्छेहरुले शब्दका अर्थ जानेरै वकालत गरेका हुन् या अधिकारको पैरवी गर्ने अन्तर्राष्ट्रिय संस्थाहरुको थिममा बहकिएका हुन् ?

मनमनै प्रश्न उठ्यो । नत्र, मानिसको दृष्टि उसको चेतनाको भित्री तहमा हुन्छ, बाहिर त्यसैको प्रतिबिम्ब देखिने हो, आँखाले । आँखा बन्द भएपछि देखिने सपना उसको त्यही दृष्टिबाट निर्देशित हुन्छ ।

अरु शब्द छोडौं, यही दृष्टिविहीन शब्दको अर्थ मात्र पनि कतिले जान्दछन् भनेर जान्न टाढा जान पर्दैन । आजभोलि सामाजिक सञ्जालमा प्राप्त हुने तीब्र प्रतिक्रियाले नेता हुन् वा विज्ञ, उनीहरुको ज्ञानको सीमाना कोरिदिन्छन् ।

०००

पत्रकारिता गरिरहेकी एक बहिनीले ‘म अन्धी त थिइनँ, तर मान्छे कस्ता हुन्छन् भनेर चिन्न सकिनँ’ भन्ने लेखेर पोष्ट गरिन् । त्यसको प्रतिक्रियास्वरुप धेरै प्रतिष्ठित विज्ञ, नेता, पत्रकारहरुले नै झुम्मिएर लेखे– अन्धो नलेख्नुस्, त्यो राम्रो शब्द होइन, त्यसको ठाउँमा दृष्टिविहीन लेख्नुस् । अव ती आँखा भएकी बहिनीले आँखा हुँदाहुँदै आफू अन्धो भएको अर्थ यो समाजलाई कसरी बुझाउनु ?

यसलाई एउटा ‘अन्धो’ शब्दले निकालेको बहस मात्र मान्नु भयो भने गलत हुनेछ । किनभने आधुनिकताका नाममा भाषाले बहन गर्ने भावलाई तिरस्कार गर्ने र अर्थलाई अपमान सोच्ने प्रवृत्तिलाई उजागर गर्नु यस लेखको आशय हो ।

आँखा शब्दले व्यक्तिमा रहेको बाहिरी दृश्य हेर्नुसँग मात्र अर्थ दिन्छ । । अन्धो भन्दा अपमान भयो भन्ने लाग्छ भने नेत्रहीन शब्द हामीसँग छ । तर, नेत्रहीनलाई दृष्टिहीन भन्नु चाहिँ सरासर मान्छेको भावदृष्टिलाई पनि अन्त्य गरिदिनु हो । बीचबीचमै आउने यस्ता दवाव समूहहरुको दवावले हाम्रो देशमा रहेको अन्धा कल्याण संघ दृष्टिविहीन संघ भएको छ ।

नेपालका अन्धा, अपाङ्गहरुको लागि वकालत गर्दै उनीहरुको हितमा जारी सन्धिमा नेपाल सरकारले हस्ताक्षर गरिसकेको छ । यी शब्द पनि हटाउने पहल कसले गर्‍यो ? नेत्रहीन सघंका अध्यक्ष रमेश पोखरेल यी शब्द हटाउने काम तिनै अभियन्ताहरुले गरेको वताउँछन् । उनी पनि भन्दैथिए– ‘हामी आँखा नभएका त होइनौं । आँखा त छ, देख्न नसक्ने मात्र हौं । त्यसैले नेत्रहिन पनि नमिल्ने रहेछ । दृष्टिविहीनको अर्को अर्थ पनि लाग्छ भन्ने कुरा पनि आयो । अहिले त अन्धा नै ठीक रहेछ भन्ने लाग्छ ।’

हिजो मात्र संजालमा दृष्टिविहिन र अन्धो भन्ने बारे बहस भैरहेको देखेको थिएँ । बहसमा शब्दहरुका वास्तविक अर्थ पहिल्याउने भन्दा आँखा चिम्लेर ती शब्दहरुलाई विस्थापित गर्ने प्रवृत्ति देखिएको छ । शब्दलाई नियतको भार बोकाउने र शब्दप्रति घृणा जगाउने काम अनुचित छ ।

पछिल्लो कालमा लङ्गडो, खोरण्डो, बहिरो, लाटो जस्ता अनगिन्ति शब्द छन् जो अर्थ भन्दा बाहिर गएर नियतको भार बोक्न वाध्य छन् र प्रयोगबाट हराउँदै छन् । यस्ता शब्दको ठाउँमा ‘फरक क्षमता भएको’ भनेर लेख्न सुझाइन्छ । अन्धो खोरण्डो, लङ्गडो जस्ता शब्दको ठाउँमा ‘फरक क्षमता भएको’ भन्ने शब्दले छुट्टा छुट्टै अर्थ दिनै सक्दैन ।

वीर अस्पतालमा भेटिएकी जीवन र जगतप्रति त्यति शक्तिशाली दृष्टि भएकी ती बहिनीलाई आज हामी दृष्टिबिहीन भन्न वाध्य छौं । जीवनप्रतिको उनको त्यो शक्तिशाली दृष्टिलाई हामी दृष्टिहीन शब्दले अपमान गर्दैछौं भने यो हाम्रो भाषिक अज्ञानता मात्र हुनेछ । उनलाई नेत्रहीन वा अन्धी भन्नु बरु न्याय संगत हुन्छ । शब्द लेख्दा वा बोल्दा नियत सफा राख्नु पर्छ, त्यसको वास्ताविक अर्थबाट डराउनु हुँदैन । अस्पतालमा भेटिएकी ती बहिनीको दृष्टिलाई एकपटक बोध गरौं त ।

Comments

Popular posts from this blog

हाम्रो भान्सा औषधालय, आमाहरु चिकित्सक ! बिनु पोखरेल

  समय मानिसको गुरु रहेछ । एउटा समयमा रुढ ठानेर परित्याग गरिएका हाम्रा सामाजिक आचार-व्यवहारलाई अर्काे समयले परीक्षण गरी गतिशील विज्ञानमा बदलिदिंदो रहेछ । बाल्यकालमा आफैंले रुढ ठानिएका सामाजिक र पारिवारिक पद्दतिहरु आज फर्केर हेर्दा तिनको प्रमाणिक वैज्ञानिकता पुष्टि हुँदै गएपछि म यस निष्कर्षमा पुगेको छु । समयले सिकाएका र अध्ययनले सावित गरेका केही समाजिक पारिवारिक आचार–व्यवहारबारे यो आलेखमा केही लेख्ने छु । हाम्रा हजुरआमा हजुरबुवाका समयको गृहस्थ जीवनको प्रायः दैनिकी यस्तो थियो । हर घरमा बिहान पूजा हुन्थ्यो । हजुरबुवा, आमाहरु ब्रह्म मुहूर्त (घाम झुल्कनुभन्दा अघिको समय)मै उठ्नुहुन्थ्यो । हर टोलमा एउटा वर पीपल रोपिएको हुन्थ्यो । हजुरबुवा हजुरआमाहरु बिहानै नुहाएर सबै तयारी भएपछि हरेक दिन घामको पहिलो झुल्को कुरेर पीपलको बोटमा पानी चढाउन निस्कनुहुन्थ्यो । चौबाटोको पीपल र घरको आँगनमा रोपिएको तुलसीको बुट्यानमा पानी चढाएर आएपछि पञ्चपात्रोमा तुलसीको पात, तील, कुश मिसाएको पानी सबैलाई खान दिनुहुन्थ्यो । त्यो पञ्चपात्रो तामाको हुन्थ्यो । तामाको भाँडामा राखेको पानी तामाकै चम्चाले उभाएर दिनुहुन्थ्यो ...

स्वास्नी अर्थात् सुवासिनी– बिनु पोखरेल

  महिलालाई देवीको रूपमा अथ्र्याइएको शब्द हो– आइमाई भर्खरै समाजशास्त्रकी एकजना प्राध्यापिकाले ‘स्वास्नीमान्छे खराब हुन्छन्’ भन्ने भावको एउटा ट्विट गरिन् । ‘आइमाई’ शब्द राखेर गरिएको त्यस ट्विटका कारण ट्विटरमा धेरै दिन बहस चल्यो । आफूले ‘आइमाई प्रवृत्ति’मा जोड दिएर ट्विट लेखेको उनको तर्क थियो । कसैले उनलाई ‘आफैँ आइमाई भएर आइमाई अर्थात् महिलालाई गाली गरेको’ आरोप लगाए भने कसैले ‘आफैँलाई होच्याउने गरी प्रस्तुत गरेको’ भनेर गाली गरे । कत्तिले ‘आइमाई’ शब्द नै हेप्ने शब्द भएको भन्दै यस्तो नलेख्न सुझाए । एकजनाले ‘आइमाई’ शब्दको अर्थ के हो, यसमा विरोध र समर्थन किन हुन्छ भन्ने प्रश्न गर्दै प्रस्ट्याइदिन मलाई आग्रह गरे । केहीले त सीधै म्यासेज पठाएर ‘आइमाई’ भन्न किन नहुने भन्दै प्रश्न गरेका थिए । स्त्री जाति बुझाउने केही शब्द, यसबारे चलेको बहस/विरोध र यसको शाब्दिक अर्थबारे यो लेखमा छलफल गर्ने प्रयास गरेकी छु ।  ००० प्रथमतः बहसमा रहेको ‘आइमाई’ शब्दको अर्थ खोजौँ । भारतका मराठीहरू आमालाई ‘आई’ भन्छन्,  उत्तर भारत र नेपालको दक्षिणमा आमालाई ‘माई’ भनिन्छ । नेपालको पहाडी भेगमा देवीलाई ‘माई’...

जहाँ छोरा अन्माएर ज्वाइँ भित्र्याइन्छ– बिनु पोखरेल

  बिहेपछि छोरीले घर–माइती गर्ने समाजमा हुर्केकी म केही समयअघि भारतको मेघालय पुगेँ। त्यहाँ पुगेपछि बनेका मेरा साथी हुन् हरि लिङ्दो। हुरीसहितको झमझम पानी परिरहेको एक साँझ हरि, उनकी श्रीमती सल्ला र छोरीसँगै म हरिको आमाघर (माइती) मअल्यङ् गएँ। मअल्यङ् मेघालयमा रहेको एउटा सुन्दर गाउँ हो, जहाँ मातृप्रधान सामाजिक व्यवस्था छ। नेपालमा छोरीलाई अन्माएर ज्वाइँको घरमा पठाएजस्तै यहाँका खासी जातिमा छोरालाई अन्माएर बुहारीको घरमा पठाइन्छ। यो गाउँमा खासीहरुको बाक्लो बस्ती छ। यस मातृप्रधान समाजको मुख्य पेसा व्यापार हो। यो गाउँ लामो कुचोका कारण प्रसिद्ध छ। म पनि उनीहरुको साथ लागेर हरिको माइती गएँ।  माइत जाँदा हरिले नै गाडी हाँकेर लिएर गए। बाटोमा उनलाई मैले हिन्दीमा सोधेकी थिएँ– ‘कति पछि माइत आयौ हरि?’ उनले हाँस्दै नेपालीमा भनेका थिए– ‘यता काम पर्दा कहिलेकाहीँ निस्कन्छु। यहीँ बस्नेगरी नआएको त धेरै भयो।’ व्यापारी भएका कारण धेरै ठाउँ डुल्ने र बुबा नेपाली भएकाले उनी हिन्दी, अंग्रेजी, नेपाली र खसिया भाषामा सहज बोल्न सक्छन्। तथापि अधिकांश खासीहरु आफ्नोबाहेक अन्य भाषा बुझ्दैनन्। हामी उनको माइती पुग्दा आम...