Skip to main content

तहसनहसपछि राष्ट्रियताको संकल्पले उठेका विश्व शक्तिराष्ट्र


 आफ्नो आलेख पढेर आएका प्रतिक्रिया हेर्न सकेसम्म छुटाउन्नँ । केही दिनअघि उदारीकरणका विषयमा प्रकाशित लेखबारे प्राप्त एउटा प्रतिक्रिया खुबै टिठ लाग्दो थियो । एकजनाले भन्नुभएको रहेछ– उदारीकरण बेगर कुन देश धनी भएका छन् ? अर्को एक जना सम्पादकले प्रतिक्रिया दिंदै सञ्जालमा लेख्नुभएको थियो, विदेशीको सामाजिक सञ्जाल चलाएर राष्ट्रियताको कुरा गर्ने सम्पादक ज्यू, तथ्य त यस्तो छ कि खासमा दूरदर्शन यहीं संस्कृतिमा तयार भयो । त्यो पनि आज होइन, चार हजार वर्ष पहिले । जसको प्रमाण हामी महाभारतमा पनि पाउँछौँ । हस्तिनापुर बसेर कुरुक्षेत्रमा भएको युद्धबारे नबिराइ संजयले चर्मचच्क्षु विहीन (आँखा नदेख्ने) धृतराष्ट्रलाई बताएको युद्ध विवरणले यसलाई पुष्टि गर्छ ।
यसबाट त्यो बेला नै दूरसंचारको विकास भएको थियो भन्न सकिन्छ (भगवद्गीता, एक अध्याय) । बरु आधुनिक प्रविधि अहिले तयार भएको हो । तपाईंले फेरि भन्नु हुनेछ– सुरु गरेर हुन्छ ? त्यसपछिको विकास किन नगरेको त ? त्यो तपाईंजस्तै आफ्नो भएकोमा विश्वास नगर्ने र अरुको सबै उत्कृष्ट ठान्ने मानसकिताका कारण हामीले हामीलाई उठाउन नसेकका कारणले भएको हो । संचार कस्तो थियो परापूर्वकालमा भनेर अर्को आलेखमा चर्चा गरौंला । आजको आलेखमा भने भौतिक विकासमा निक्कै माथि उक्लिएका देशहरु कसरी त्यहाँ पुगे, के उनीहरुले देशमा भएका सामान बेच्न व्यापारी भित्र्याए या भित्रिएका व्यापारी खेदाए ? यसबारे बुझ्न आजका सबैभन्दा धनी देशहरुको इतिहास हेरौं ।उसै पनि युद्ध खेपिरहेको जापानका दुई सहर हिरोसिमा र नागासाकीमा अमेरिकाले बम खसाल्यो (१९४५, ६ र ९ अगष्ट ) । जुन आजसम्मकै सबैभन्दा क्रुर घटना थियो । हिरोसिमाको तीन लाख पचास हजार जनसंख्यामा आधा मरे भने नागासाकीमा ७५ हजार मान्छे तत्काल मरे ।
तर आणविक विकिरणले वषौं वर्षसम्म मान्छे मरिरहे । भनिएको छ– त्यो विस्फोटमा पर्नेहरु कुनै न कुनै रुपमा रोगी भए । तिनीहरुलाई जापानी भाषामा ‘हिवाकुशा’ भनिन्थ्यो । त्यस्ता ‘हिवाकुशाहरु धेरै नै थिए । यस्तो परिणाम भोगेको जापानले १४ अगष्ट १९४५ मा विनाशर्त दोस्रो महासमरमा आत्मसर्मपण गर्यो ।
युद्धले ध्वस्त भएको जापानसँग त्यो मरुभूमि टाढैबाट हेरेर रुनु सिवाय अरु केही थिएन । युद्धले उनीहरुको अर्थतन्त्र मात्र सकिएको थिएन, देश नै मरुभूमि भएको थियो । जापान अब उठ्छ भन्ने कसैले सोचेका पनि थिएनन् । यसअघि सोह्रौं शताब्दीमा पाँच देश अंग्रेज, डच, स्पिेनिज, फ्रान्सिसदेखि अमेरिकनको गुलामीमा फसेको थियो जापान ।
जापानलाई यिनीहरुको गुलामीबाट निकाल्न मैजी नामक नेताको नाम कहिल्यै भुल्दैन जापानले । ती नेपालका राणाहरु जस्ता थिए । जसलाई मैजी एरा(१८६८) नै भनिन्छ । गुगलमा गएर मैजी एरा लेखे पनि अधिकांश कुरा पढ्न पाइन्छ । त्यसबेला नै चलेको स्वदेशी क्रान्ति दोस्रो देशसँग भिख माग्नुको साटो आफैं मेहनत गरेर पुँजी बनाऔं भन्ने भावनाले ओतप्रोत थियो जापान ।
जनता नै सारा उठेर यसमा साथ दिएका थिए । जसले विदेशीका सामान किन्न बन्द गर्ने अभियान चलाएका थिए र त्यहीं अभियानबाट विदेशी कम्पनी भगाएका थिए । पछिल्लो प्रभाव पनि त्यो अभियानकै हो । जापानलाई माथि उठाउँन जनताको अठोट थियो उही तलवमा हामी आठ घण्टाको ठाउँमा १२ घण्टा काम गर्नेछौं ।
यसरी जापानमा राष्ट्रिय भावनाले ओतप्रोत अभियान सुरुभयो । महासमरमा ध्वस्त जापानमा १९५०–१९७० सम्म ‘जापानी होऊ, जापानी सामान किनौं’ आन्दोलन चल्यो .। World War II and defeat
संस्कृति बचाउन पनि जापानले धेरै कुरा अनिवार्य गरायो । जस्तैः विदेशी फर्निचर घरभित्र राख्न नपाइने, घर बनाउँदा आफ्ना कला संस्कृति झल्कने या बौद्धधर्म झल्कने बनाइनुपर्ने, भान्सामा कुर्सी राख्न नपाइने किनकि त्यहाँ पलेटी कसेर खाना खाने चलन हुन्छ । गरिब भएर होइन तर त्यहाँका भान्सामा आजपनि काठका भाडाकुँडा हुन्छन् किनकि उनीहरुको यो संस्कृति हो । उनको संस्कृतिमा यसको अनुमति छैन ।
जापानिज भाषा प्रयोग गर्छन्, जापानिज सामान प्रयोग गर्छन्, जापानिज संस्कृति जस्ताको तस्तै लिएर आएका छन् र उनीहरु समृद्ध पनि छन् । यसरी भाषा, देशभक्ति, भुषा, संस्कृति, धर्म केही नछोडी राष्ट्रियताको अभियानले ३० वर्ष काट्दा नकाट्दै संसारकै ठूलो निर्यातको देश बन्यो जापान ।
आज पनि जापानमा यही अभियान जारी छ । संस्कृति साथमा लिएर हिंडेको जापान हेरौं आज कहाँ छ ? राष्ट्रियतामा यति अडिग छन् कि, त्यहाँका कुनै नेतालाई भ्रष्टाचारको मुद्दा लागेमा र मिडियामा त्यो कुरा आए आफ्नो देशको स्वाभिमानमा आँच आएको महसुस गरेर आत्महत्या गर्छन् । पछिल्लो उदाहरण ‘तोसियो अकागी’ नामका नेता हुन् । जसले भर्खरै मात्र आत्महत्या गरेका छन् । यसरी भनौं– राष्ट्रियताको कसीमा बाँधिएरै जापान आजको जापान भएको हो ।
त्यस्तै अर्को राष्ट्रियताको नाराले उठेको देश हो फ्रान्स । पहिलो महासमर (१९१४–१९१८) जितेको फ्रान्स दोस्रो महासमर (१९४५)मा हार खायो । त्यो बेलाको सरकारको नेतृत्व गरिरहेका चाल्र्स दि गौल निक्कै चिन्तनशील नेता थिए । उनले फ्रान्सले के कारणले हार खायो भनेर खुब अनुसन्धान गरेर बसेका थिए ।
फ्रान्समा १९३६ मा टेलिभिजन भित्रिएको थियो । योबीचमा रक्सीका पसल , क्यासिनो, सिनेमा हल धेरै नै खोलिएका थिए । तर दोस्रोपटक जब जर्मनले आक्रमण गर्यो तब फ्रान्सले कुनै प्रतिकार गर्न सकेन । यी फोस्रा मनोरञ्जनमा जनता भुलेका कारण देशले हार खप्नु परेको दि गौलको निष्कर्ष थियो ।
जब १९४५ पछि दि गौल पुन नेतृत्वमा आए या भनौँ प्रधानमन्त्री भए । तब उसको पहिलो काम सिनेमा घर फोर्ने, टिभी प्रसारण बन्द गर्ने काम गरे । हाम्रो जस्तो पश्चिमाले चलाएका भारतीय च्यानलको खुलेआम यहाँ प्रसारण भए जस्तै त्यहाँ जर्मन र अमेरिकन प्रभाव थियो ।
तर यहाँसम्म कि फ्रान्समा अन्य देशबाट आउने सिग्नल रोक्नकै लागि पनि दुई स्याटलाइट छोडियो । जसले आज पनि काम गरिहेको छ । उनीहरुले रक्सीका पसल बन्द गराए । अनि हरेकमा ‘फ्रेन्च होऊ, फ्रेन्च सामान किन’ भन्ने सूचना पुर्याए । Charles de Gaulle
म आफैँ त फ्रान्स पुगेको छैन, तर त्यहाँ पुगेकाहरु भन्नुहुन्छ– आज पनि स्कूलका बोर्डमा ‘फ्रेन्च बन फ्रेन्च सामान किन’ भनेर लेखेको हुन्छ रे । साथै फ्रेन्चहरु उनीहरुका अगाडि अंग्रेजी बोल्यो भने रिसाउँछन् रे । तर फ्रेन्च बोल्ने भेट्दा एकदमै खुसी हुन्छन् रे । यसको मतलव फ्रान्सले पैसा विदेशिन रोकेको मात्र हैन, आफ्नो भाषा संस्कृति पनि संरक्षण गरेको छ । तब फ्रान्स आजको फ्रान्स बन्यो ।
विश्वका विभिन्न देशमा आफ्नो शासन जमाउन पुग्ने आजको अमेरिकाले १६०७ देखि १७८३ सम्म ब्रिटिस राज खपेको थियो । विभिन्न २३ वटा उपनिवेश बनाएर अमेरिकामा राज गरेको ब्रिटिस साम्राज्यको गुलामी नसहने भन्दै १७७५ देखि उनीहरुका हरेक कुरा अवज्ञा सुरु भयो ।
व्यापारको लागि आएर आर्थिक स्रोतमा कब्जा गर्दै सत्ता नै कब्जा गर्न पुगेको अंग्रेजसँग १७७६ देखि १७८१ सम्म ठूलो युद्ध गरे अमेरिकनहरुले । जसलाई ‘अमेरिकन वार अफ इन्डिपेन्डेस’ भनिन्छ । American War of Independence
अंग्रेज सेनाको हलमा आगो लगाइदिएर आन्दोलनको हुँकार गरेका थिए अमेरिकनले । जसलाई आज पनि ‘बोस्टन टी पार्टी’ नामले चिनिन्छ । यसपछि भने यहाँ अंग्रेजको सशक्त बहिष्कार सुरु भयो । जसको नेतृत्व जर्ज वासिङ्टनले गरेका थिए । अन्ततः अमेरिकनले अंग्रेजलाई खेदाएरै छोडे ।
अंग्रेज खेदेपछि पनि अमेरिकनहरुले सबै व्यापार ओगटेर बसेको अंग्रेजको सामान प्रयोग नै नगर्ने घोषणा गरे । यतिसम्म कि आन्दोलनमै चिसोले धेरै उनीहरु त्यहीँ मरे, तर अंग्रेजका बाक्ला लुगा लगाएर ज्यान बँचाएनन् ।
सुन्दा अचम्म लाग्ला तर १७८६ सम्म अर्थात् अंग्रेज अमेरिकामा जमेर रहुन्जेल अमेरिकाका आफ्नो एउटा कपडा फ्याक्ट्री पनि थिएन । १७७६ जुलाइ ४ मा जर्ज वासिङटनले परतन्त्र भएको देशलाई मुक्त गर्ने अभियानलाई उचाइ दिएर झण्डै १० वर्ष चलेको सो अभियानले अंग्रेज खेदेपछि ‘आफ्नै खाउँ आफ्नै लाउँ’ अभियान चल्यो ।
यहाँसम्म कि ‘सके आफू उत्पादन गर, नसके नखाऊ, सके आफैंले उत्पादन गरेको लगाऊ, नभए पुरानो लगाऊ’ भन्ने उर्दी गर्यो सरकारले । जुन अभियानले १६५ वर्षमा त अमेरिकालाई संसार नियन्त्रण गर्ने ठाउँमा पुर्यायो । यस्ता तथ्यहरु अनलाइनहरुमा प्रशस्तै पढ्न पाइन्छ । कति त अडियो बुक नै उपलब्ध छन् ।
यता न्यान्किन (नानाजिङ) त्यसबेलाको चीनको राजधानी थियो । जहाँ इतिहासकै ठूलो नरसंहार भएको थियो । चीनमाथि जापानीहरुले इतिहासकै सबैभन्दा घृणित आक्रमण गरे । जसलाई न्यान्किन नरसंहार (नान्किन मसाक्कर)(१९३४–१९४५)भनिन्छ ।
जुन नरसंहारमा जापानी सेनाले लाइन लगाएर काटेर, बलत्कार गरेरै तीन लाख चिनियाँहरु मारेका थिए । यतिसम्म कि जापानीहरुले भिक्षुहरुलाई ल्याएर उनीहरुकै छोरीलाई करणी गर्न लगाउँथे र उसैको अगाडि काटेर मार्थे ।यही समय अंग्रेजहरु अफिम बोकेर चीन पुगेका थिए । त्यसबेला बेलायतको बजारमा चिनियाँ चिया, रेशम, माटोको भाँडाको उच्च माग थियो । ब्रिटिस साम्राज्यवादको उद्देश्य देखिने व्यापार भए पनि त्यहाँ साम्राज्य खडा गर्नु नै थियो । त्यसैले उनीहरु अफिमको व्यापार गर्न भन्दै चीन पुगेका थिए । जुन व्यापारले चिनियाँहरुलाई अफिमको लत लगाए । युद्ध र नरसंहार खेपिरहेको चीनमा अफिमको लत पनि मिसिएपछि भोकमरी सुरु भयो ।
चिनियाँमाथि जापानको घिनलाग्दो आक्रमण र अफिमको लत लागेका चिनियाँले त्यो बेला एकदमै ठूलो भोकमरी भोगे र युद्धमा भन्दा धेरै जनसंख्या गुमाए । यस्तो विपद् संसारका कम देशले भोगेका छन् ।
तर संसारभर व्यापारको नाममा छिरेर त्यस देशलाई गुलाम बनाउने अंग्रेजले चिनियाँलाई गुलाम बनाउन सकेन । यस्तो बेला पनि ब्रिटिसको उपनिवेश विस्तार हुन नदिन व्यसनमुक्त चीन आन्दोलनको घोषणा गरियो र ब्रिटिसलाई त्यहाँबाट खेदाइयो । जुन अभियानको जगबाट नै उदाएका थिए माओ त्से तुङ (१८९३–१९७६) ।
उनीहरुले अंग्रेजले थोपरिसकेको भाषा, भेषभूषा, भोजन, बहिष्कार गरे र बसेका भवनहरु पनि भत्काए । गुलाम बनाउन नसकेपछि चिनियाँलाई अफिमको लतमा लठ्ठ पारेर फर्के । त्यसको असर आजसम्म चीनले हटाउन सकेको छैन ।
त्यसपछि चीनमा राष्ट्रियता अभियान जोडबलका साथ उठ्यो । चीनमा जापानले आक्रमण गर्न सक्नुको कारण अंग्रेजहरुले लिएर गएको अफिम थियो । यस्तो खान सिकाएर उनीहरुलाई लठ्ठ बनाए र प्रतिकारमा लडाईं गर्न नसकेर यो नरसंहार खप्नु पर्यो भन्ने निष्कर्ष थियो उनीहरुको ।
त्यसैले व्यसन हटाउनेदेखि भोकमरीबाट बच्न बाहिरको केही नकिन्ने आफैँ उत्पादनमा लाग्ने अभियान लिएर चीन माथि उठ्यो । माओ त्से तुङको नेतृत्वमा उठेको आन्दोलनले जनगणतन्त्र नै स्थापना गरायो ।
त्यसपछि उद्योगलाई गाउँ गाउँमा पुर्याएर आफ्ना सामान उत्पादनमा लागे र बारिहका समान सबै ठप्प पारेर आफ्ना सामानलाई बाहिर पठाउनेलाई सरकारले पैसा लगानी गर्ने बनाइदिए । जुन कुरा आइरिस च्याङले त्यही नरसंहारलाई केन्द्रमा राखेर लेखिएको किताव ‘रेप अफ न्यान्किन’ मा उल्लेख गरेकी छन् ।
यहाँसम्म कि चीनले बाहिरका देशसँग सामाजिक सञ्जालसँग पनि जोडिन नदिएर जनतालाई स्थानीय विकासमा लगाएको छ । त्यसको ७२ वर्षपछि चीन संसारकै धनी र सम्पन्न राष्ट्रमा उक्लिएको छ । अहिले संसार भरका जुन देशमा पुग्नुस् चीनका सामान छन् । जुन राष्ट्रियताको अभियान अहिले पनि चीनमा कायम छ ।
कम्युनिष्ट देश चीन पुरानो संस्कृति लिएर रहेका गाउँलाई जस्ताको तस्तै राखेर संसारलाई त्यो संस्कृति देखाउन बोलाइरहेको छ । साँस्कृतिक पुनरोत्थानमा लागेको चिनले क्रिश्चियन र मुसलमानलाई निषेध मात्र गरेको छैन आफ्नोपन झल्कने पुरानो कन्फुसियस शिक्षा लागू गरेर अघि बढेको छ । हिजो भोकमरीले सुतेको देश चीन आज विश्वको खाद्यको झण्डै पचास प्रतिशत अन्न उत्पादन गरेर संसारभर पठाउँछ ।
यसरी ७२ वर्ष अघिको चीन, ९० वर्षअघिको जापान, १७० वर्षअघिको फ्रान्स, २७० वर्षअघिको अमेरिका सबै स्वदेशी आन्दोलनले अगाडि आएका हुन् । आज संसार हाँक्ने देश कहिले भोकमरी त कहिले नरसंहारले भुइँमा थिए । तर देशले जे उत्पादन गर्न सक्छ त्यहीं खाएर र लगाएर बस्ने भन्ने संकल्पले उनीहरु यो अवस्थामा आइपुगेका हुन् ।संसार हाँकिरहेका देशहरुको इतिहास हेर्दा प्रष्ट हुन्छ कि यिनीहरु घर भित्रका होइन, घर बाहिरकासँग लडेका थिए र बाहिरका व्यापारी धपाएर घर भित्रका उत्पादकलाई सरकारले उठाएको थियो । हामी घर भित्रका मान्छे काट्नलाई सशस्त्र आन्दोलन गर्ने, यस्तो आन्दोलनलाई क्रान्ति मान्ने, अनि हाम्रा उत्पादक र व्यवासायीलाई पाता कसेर बाहिरका व्यापारीलाई घरको साँचो जिम्मा लगाइदिने काममा उद्दत छौँ र त्यस्तालाई क्रान्ति नायकका रुपमा आम चर्चाको केन्द्रमा राखिरहेका छौँ ।
बहुराष्ट्रिय कम्पनीको एउटा व्यापारीलाई नेपालको जडिबुटी भण्डार जिम्मा लगाउँदैछौं र त्यस्ता व्यापारीलाई क्रान्तिकारी भन्ने नेताको स्तुति गाएर हाम्रा आमसञ्चार रंगिएका छन् ।
हाम्रो समाजमा मिडियाका माध्यमबाट कस्तो निम्न चेतना विस्तार भइरहेको छ, त्यो प्रष्टै छ त । विज्ञापनमार्फत् र लुकेको स्रोतबाट सञ्चार गृहलाई यसले थोरै लाभ दिन सक्ला, तर देश ? देशको विकास ? जनताको आर्थिक स्रोत ? हामी बुद्धुलाई हाम्रो सामथ्र्य बुझाइदिन कुन देशबाट कस्ता विज्ञ झिकाउनु पर्ने हो ?
फ्रान्समा दि गौलले त्यसबेला विदेशी च्यानल बन्द गराए । हाम्रोमा स्वदेशी च्यानल र माध्यमहरु नै विदेशी सफ्वेयर फिट गरेका मेसिन जस्ता छन् । त्यसमाथि हाम्रा नेता अझ विदेशी च्यानल आउन नपाउने कानुन मिचेरै पो विदेशी च्यानल उद्घाटन गरिरहेका छन् । जुन दिन हामी सीमित वस्तु मात्र आयात गरेर हाम्रा सबै उत्पादन निर्यात् गर्ने हुँदैनौँ, तबसम्म देश कहिल्यै माथि उठ्दैन ।
तर, हाम्रा नेता उनका छोराछोरी र आफन्तलाई जागिर र उनलाई कमिसन जम्मा गर्न देशका हरेक स्रोत र खानीहरु विदेशीलाई दिन तयार छन् । यस्ता भिखारी नेता उत्पादन गरेका हामीले के हुँदैछ भनेर चासो नराख्ने हो भने नेपाल संसारका धनी व्यापारीहरुको क्रिडास्थल भएको हेर्न तयार भए हुन्छ ।
कतिपयले बाहिरको सामान रोक्न सम्भव छैन भन्ने तर्क गरेको सुन्छु । हो, अहिलेको उपभोक्ता बजारमा बाहिरका सामानहरु हामीले उपभोग गरिहेका छौँ । किनभने हामीले उत्पादन गर्न नसकेर हो । बाहिरका व्यापारीलाई हाम्रोमा आउन दिन सकिन्छ, तर आफ्नो राष्ट्रको हितमा । उनीहरुको नाफाको एक सुत्रीय योजनामा होइन ।
पृथ्वीनारायण शाहले पनि बाहिरका व्यापारीहरुलाई देशभित्र आउन नदिने, देशका सामान कसरी धेरै उत्पादन गर्ने र बाहिरका बजारमा पुर्याउने भनेर नियम बनाएका थिए । जुनकुरा पृथ्वीनारायण शाहको दिव्योपशेदमा पनि छ ।
त्यहाँ भनिएको छ – भारतका व्यापारीहरुलाई पर्साभन्दा माथि आउन नदिनू । विदेशी कपडा नलगाउनू, विदेशी नाचगान नगर्नू, स्थानीय नेवारी नाचगान हेर्नू, विदेशी कलाकार ल्याए पनि फागू सकेपछि छिटै फर्काइदिनू, यहाँको जडिबुटी बेच्नू अथवा निकासी गर्नू, खेती हुने, खानी भएको ठाउँमा घर भए हटाउनू । खेती हुने ठाउँमा खेती लगाउन दिनू र खानी भए निकाल्नू र आफ्नै समान प्रयोग गर्नु (पृथ्वीनारायण शाहकों दिब्योपदेश ) । टिठ त मलाई ती विद्वान पल्टनेहरुसँग लाग्छ– जो हुन्छ, गर्नु पर्छ भन्ने ऊर्जा दवाउन न्वारनदेखिको बल लगाएर उपदेश छाट्न आइपुग्छन् ।
फेरि दोहोर्याएर भन्छु, २० वर्षको गुरु योजना बनाऔं । सामाजिक संजाल सबै बन्द गराएर युवालाई सिप सिक्न र सिकेकालाई काममा लगाएर जागिर दिने, आफ्नो गर्न चाहानेलाई सानादेखि ठूलासम्म लगानी सरकारले गर्ने र उत्पादित सामान बेच्नको लागि समन्वय गरिदेओस् । अनि कसरी हुन्न विकास ? हिजोको भन्दा हामी के विकसित भएका छौं र विदेशी कम्पनी भित्र्याएर ?
बरु उल्टो हाम्रा सिप लोप भए, हामी उनीहरुमाथि पूर्णनिर्भर भयौं, योबाहेक अरु के भयो ? उदारीकरणले कुन गरिब देश धनी भए ? बरु धनी देशहरुले गरिब देशमा व्यापारका नाममा तिनै गरिब देशबाट अरबौ अरब निचोरेर लगिरहेका छन् । उनीहरुको व्यापार विस्तारले हामी हाम्रो आर्थिक निर्भरता उसैमा केन्द्रित गरिरहेका मात्र छैनौँ, हाम्रा संस्कृति गुमाएकाछौं । एकअर्काको साथमा समूहमा काम गर्ने हाम्रो संस्कृति टुटेर छिन्नभिन्न भएका छौं ।
सरकारभन्दा बजारलाई, सामाजिक सांस्कृतिक मान्यताभन्दा आर्थिक लाभको लागि, सामूहिक क्रियाकलापभन्दा निजी व्यवसाय र उद्यमलाई प्राथमिकता दिने प्रणालीले कसलाई लाभ हुन्छ ? कहिले हामी असलियत थाहा पाउँछौँ र यसका विरुद्ध निस्कन्छौँ ? हामीले हाम्रो साँस्कृतिक पुनरुत्थान गर्दै सामूहिकतालाई उठाउन जरुरी छ ।
देशको लगानी देशमै, जनताको सिप देशमै, देशको मुद्रा उत्पादनमै र उत्पादनका पूर्वाधार निर्माणमै लगाउनु पर्छ । अधिकारको पैरवीका नाममा, सञ्चारका नाममा आएका सबै विदेशी रकम बन्द गरेर आफ्नो स्रोत आफ्नै लगानी नगरेसम्म देश कहिल्यै समृद्ध बन्न सक्दैन ।
स्रोत :- २०७८ पुष ३ गते ८:२५ नेपाल प्रेसमा प्रकाशित

Comments

Popular posts from this blog

हाम्रो भान्सा औषधालय, आमाहरु चिकित्सक ! बिनु पोखरेल

  समय मानिसको गुरु रहेछ । एउटा समयमा रुढ ठानेर परित्याग गरिएका हाम्रा सामाजिक आचार-व्यवहारलाई अर्काे समयले परीक्षण गरी गतिशील विज्ञानमा बदलिदिंदो रहेछ । बाल्यकालमा आफैंले रुढ ठानिएका सामाजिक र पारिवारिक पद्दतिहरु आज फर्केर हेर्दा तिनको प्रमाणिक वैज्ञानिकता पुष्टि हुँदै गएपछि म यस निष्कर्षमा पुगेको छु । समयले सिकाएका र अध्ययनले सावित गरेका केही समाजिक पारिवारिक आचार–व्यवहारबारे यो आलेखमा केही लेख्ने छु । हाम्रा हजुरआमा हजुरबुवाका समयको गृहस्थ जीवनको प्रायः दैनिकी यस्तो थियो । हर घरमा बिहान पूजा हुन्थ्यो । हजुरबुवा, आमाहरु ब्रह्म मुहूर्त (घाम झुल्कनुभन्दा अघिको समय)मै उठ्नुहुन्थ्यो । हर टोलमा एउटा वर पीपल रोपिएको हुन्थ्यो । हजुरबुवा हजुरआमाहरु बिहानै नुहाएर सबै तयारी भएपछि हरेक दिन घामको पहिलो झुल्को कुरेर पीपलको बोटमा पानी चढाउन निस्कनुहुन्थ्यो । चौबाटोको पीपल र घरको आँगनमा रोपिएको तुलसीको बुट्यानमा पानी चढाएर आएपछि पञ्चपात्रोमा तुलसीको पात, तील, कुश मिसाएको पानी सबैलाई खान दिनुहुन्थ्यो । त्यो पञ्चपात्रो तामाको हुन्थ्यो । तामाको भाँडामा राखेको पानी तामाकै चम्चाले उभाएर दिनुहुन्थ्यो ...

स्वास्नी अर्थात् सुवासिनी– बिनु पोखरेल

  महिलालाई देवीको रूपमा अथ्र्याइएको शब्द हो– आइमाई भर्खरै समाजशास्त्रकी एकजना प्राध्यापिकाले ‘स्वास्नीमान्छे खराब हुन्छन्’ भन्ने भावको एउटा ट्विट गरिन् । ‘आइमाई’ शब्द राखेर गरिएको त्यस ट्विटका कारण ट्विटरमा धेरै दिन बहस चल्यो । आफूले ‘आइमाई प्रवृत्ति’मा जोड दिएर ट्विट लेखेको उनको तर्क थियो । कसैले उनलाई ‘आफैँ आइमाई भएर आइमाई अर्थात् महिलालाई गाली गरेको’ आरोप लगाए भने कसैले ‘आफैँलाई होच्याउने गरी प्रस्तुत गरेको’ भनेर गाली गरे । कत्तिले ‘आइमाई’ शब्द नै हेप्ने शब्द भएको भन्दै यस्तो नलेख्न सुझाए । एकजनाले ‘आइमाई’ शब्दको अर्थ के हो, यसमा विरोध र समर्थन किन हुन्छ भन्ने प्रश्न गर्दै प्रस्ट्याइदिन मलाई आग्रह गरे । केहीले त सीधै म्यासेज पठाएर ‘आइमाई’ भन्न किन नहुने भन्दै प्रश्न गरेका थिए । स्त्री जाति बुझाउने केही शब्द, यसबारे चलेको बहस/विरोध र यसको शाब्दिक अर्थबारे यो लेखमा छलफल गर्ने प्रयास गरेकी छु ।  ००० प्रथमतः बहसमा रहेको ‘आइमाई’ शब्दको अर्थ खोजौँ । भारतका मराठीहरू आमालाई ‘आई’ भन्छन्,  उत्तर भारत र नेपालको दक्षिणमा आमालाई ‘माई’ भनिन्छ । नेपालको पहाडी भेगमा देवीलाई ‘माई’...

के व्रत संस्कृति रुढीवाद हो ? –बिनु पोखरेल

    पोहोर साल ‘यसपालीको तीज, नो ब्रत प्लिज’ भन्ने गीत बजारमा आयो । सामाजिक सञ्जालमा स्वघोषित दोस्रो दर्जाको दावी गर्दै ‘महिलावादी’ समूहले त्यसलाई अग्रपंक्तिमा उभिएर समर्थन जनायो ।  उक्त समूह सामाजिक व्यवस्थाका गुणदोष केलाउने भन्दा पनि नेपालका सांस्कृतिक मान्यताहरुमाथि आँखा चिम्लेर प्रहार गरिरहेकै हुन्थ्यो । लामो समयदेखि तीजमा व्रत नबस्ने अभियान चलाइरहनु भएका उहाँहरुको लागि यो गीत घृणा प्रवद्र्धनको औषधि सावित भइरहेको थियो ।  व्रतले महिलाहरुलाई अघि बढ्न दिएन । व्रतकै कारण सबै विकास ठप्प भयो भन्ने उहाँहरुको निष्कर्ष छ । मूलधारको भनिएको मिडिया पनि मौलिक संस्कृतिको अस्वीकारलाई क्रान्ति नै ठान्छ । त्यसैले मिडियामा गीतसँगै नो व्रत भन्दै मुठ्ठी कसेका आलेख पनि बाक्लै छापिए ।  विमर्शका लागि ठाउँ दिने भन्दा अभियानमा रमाउने र एकथरी विचारलाई निषेध गर्ने अमुक् सञ्चार माध्यमको परिपाटीले उनीहरुले नरुचाएका विषयमा कलम चलाउनु अपराधीको दर्जा पाउनुजस्तै हुन पुगेको छ । यद्यपि आज सभ्य बन्ने नाममा तेज्य बनाइँदै लगिएको व्रत बस्ने संस्कृतिबारे लेख्ने धृष्टता गरेको छु । व्रतको अर्थ पहिला ...